अन्तर्राष्ट्रियअर्थतन्‍त्रकर्णालीकृषिकोशीखेलकुदगण्डकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीविचारशिक्षासमाचारसुदूरपश्‍चिमसूचना प्रविधिस्थानियस्वास्थ्य

मौलापुरमा संघर्ष समितिको चरणबद्ध आन्दोलन घोषणा, तालाबन्दीसम्मका कार्यक्रम सार्वजनिक

रौतहट, १२ बैशाख
रौतहटको मौलापुरमा आधारभूत सेवा सुविधा तथा बाँकी भुक्तानीसम्बन्धी समस्या समाधानको माग गर्दै गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। लामो समयदेखि बिजुली, खानेपानी तथा विवाहसँग सम्बन्धित बाँकी भुक्तानी नपाएको भन्दै दबाब सिर्जना गर्न आन्दोलन घोषणा गरिएको समितिले जनाएको छ।
मौलापुर बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गर्दै संघर्ष समितिले स्थानीय समस्या समाधानका लागि सरोकारवाला निकाय गम्भीर नबनेको आरोप लगाएको छ।
घोषित कार्यक्रमअनुसार वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ। यस अभियानमार्फत स्थानीय बासिन्दाको व्यापक समर्थन जुटाउँदै आन्दोलनलाई थप सशक्त बनाउने योजना रहेको छ।
त्यसैगरी वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई औपचारिक ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको छ। ज्ञापनपत्रमा स्थानीय समस्या र ती समस्याको तत्काल समाधानका मागहरू समावेश गरिने जनाइएको छ।
संघर्ष समितिले वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत घोषणा गरेको छ। प्रदर्शनमार्फत समस्या समाधानमा ढिलाइ भएकोप्रति ध्यानाकर्षण गराइने बताइएको छ।
मागहरू सम्बोधन नभए अन्तिम चरणमा जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको छ। समितिले चेतावनी दिँदै भनेको छ—यदि मागहरू बेवास्ता गरिए आन्दोलन अझ सशक्त र कडा बनाइनेछ।
संघर्ष समितिका संयोजक भोला पाण्डे ले नागरिकका आधारभूत सेवा सुविधा र बाँकी भुक्तानीको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधानका लागि आन्दोलन अपरिहार्य बनेको उल्लेख गर्दै सम्बन्धित निकायले समयमै पहल नगरे परिस्थिति थप जटिल बन्न सक्ने चेतावनी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button