बोक्सीको आरोपमा ४५ वर्षीय एकल वृद्ध महिलामाथि निर्घात कुटपिट, गम्भीर घाइते

रौतहट, ३१ जेठ । रौतहटको यमुनामाई गाउँपालिका–४ सरूअठा गाउँ मा बोक्सीको आरोप लगाउँदै ४५ वर्षीय एकल वृद्ध महिला फुलकुमारी यादवमाथि सामूहिक रूपमा निर्घात कुटपिट गरिएको घटनाले स्थानीय क्षेत्रमा व्यापक आक्रोश र त्रास फैलाएको छ। अन्धविश्वासको आधारमा गरिएको भनिएको उक्त आक्रमणबाट गम्भीर घाइते भएकी यादव हाल उपचाररत रहेकी छन्।
प्राप्त जानकारी अनुसार, पीडित फुलकुमारी यादवलाई गाउँकै केही व्यक्तिहरूले कुनै ठोस प्रमाण वा आधारबिना बोक्सीको आरोप लगाउँदै ज्यानै जाने गरी कुटपिट गरेका हुन्। आक्रमणबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। तत्काल उद्धार गरी उनलाई प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको छ, जहाँ चिकित्सकको निगरानीमा उपचार भइरहेको परिवारले जनाएको छ।
पीडितका छोरा चन्दन यादवका अनुसार गाउँकै रामबाबु यादवकी छोरी नेहा कुमारीले करिब सात महिनामै वीरगञ्जस्थित अस्पतालमा शिशु जन्माएकी थिइन्। जन्मिएको शिशुको स्वास्थ्य अवस्था कमजोर भएपछि सघन उपचार कक्ष (CCU) मा राखिएको थियो। सोही घटनालाई आधार बनाएर केही व्यक्तिहरूले अन्धविश्वास फैलाउँदै उनकी आमालाई दोषी देखाउन खोजेका थिए।
चन्दन यादवले रामबाबु यादवका छोरा रोहित राय, कपिलदेव राय तथा पाना देवी, मनतोरा कुमारी, आशा कुमारी, निशा कुमारी, मनिष यादव लगायतले योजनाबद्ध रूपमा उनकी आमामाथि आक्रमण गरेको आरोप लगाएका छन्। “मेरो आमालाई कुनै प्रमाणबिना बोक्सी भन्दै कुटपिट गरियो। उहाँमाथि अमानवीय व्यवहार गरियो र ज्यानै जोखिममा पार्ने प्रयास गरियो,” उनले दुःख व्यक्त गरे।
स्थानीयवासीका अनुसार घटनापछि गाउँमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। महिलामाथि भएको यस प्रकारको हिंसात्मक व्यवहारको चौतर्फी विरोध भइरहेको छ। मानव अधिकारकर्मी तथा सामाजिक अगुवाहरूले समेत दोषीमाथि तत्काल कानुनी कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन्।
पीडित पक्षले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गर्दै प्रहरी प्रशासनमा जाहेरी दिने तयारी गरेको जनाएको छ। घटनापछि पीडित परिवार असुरक्षित महसुस गरिरहेको र दोषी पक्षबाट थप धम्की आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
नेपालको प्रचलित कानुनअनुसार कसैलाई बोक्सीको आरोप लगाउने, मानसिक तथा शारीरिक यातना दिने, सार्वजनिक रूपमा अपमानित गर्ने वा हिंसा गर्ने कार्य गम्भीर फौजदारी अपराध मानिन्छ। यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाही तथा कैद सजायको व्यवस्था रहेको छ। तर कानुनी व्यवस्था हुँदाहुँदै पनि ग्रामीण क्षेत्रमा अन्धविश्वासका कारण महिलामाथि हुने हिंसा र उत्पीडनका घटना अझै दोहोरिनु गम्भीर चिन्ताको विषय बनेको छ।
प्रहरी स्रोतका अनुसार घटनाबारे प्रारम्भिक जानकारी संकलन भइरहेको छ। पीडित पक्षबाट औपचारिक जाहेरी प्राप्त भएपछि घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।
यस घटनाले समाजमा अझै विद्यमान अन्धविश्वास, महिला हिंसा तथा सामाजिक विभेदको यथार्थ चित्र उजागर गरेको छ। स्थानीय सरोकारवाला निकाय, जनप्रतिनिधि तथा मानव अधिकार संस्थाहरूले यस्ता अमानवीय गतिविधि अन्त्य गर्न जनचेतना अभिवृद्धिसँगै कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।



