प्रदेश समाचारमधेशसमाचारस्थानिय
फेटा गाउँपालिकाद्वारा ३९ करोडभन्दा बढीको बजेट सार्वजनिक

बाराको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३९ करोड १६ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिका उपाध्यक्ष निलम देवी साहले बजेट प्रस्तुतिका लागि अध्यक्ष अन्सारीलाई आग्रह गर्नुभएको थियो।
गाउँपालिकाले शिक्षा सुधार, युवा स्वरोजगार, महिलाका लागि सिपमूलक तालिम, पूर्वाधार विकास, खेलकुद प्रवर्द्धन तथा अधुरा सडक–नाला निर्माणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको जनाएको छ।
प्रस्तुत बजेटमार्फत गाउँपालिकाभित्रका सातै वडामा समतामूलक विकास, गुणस्तरीय सेवा प्रवाह तथा स्थानीय आवश्यकतामा आधारित योजनाहरू कार्यान्वयन गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा सातै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, नेपाल प्रहरीका सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सुशील साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
प्रमुख अतिथि साहले समयमै नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिएकोमा गाउँपालिका नेतृत्वको प्रशंसा गर्दै प्रभावकारी कार्यान्वयनमार्फत जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सुनिल साहले गर्नुभएको थियो।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, खेलकुद तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै “समृद्ध फेटा निर्माण” को दीर्घकालीन लक्ष्य अघि सारेको जनाएको छ।



