प्रदेश समाचारमधेशसमाचारस्थानिय
करैयामाई गाउँपालिकाद्वारा ४५ करोडभन्दा बढीको बजेट पारित

बारा, ०५ असार
बाराको करैयामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार गाउँपालिकाको कार्यालय करैयास्थित सभाहलमा सम्पन्न १९औँ गाउँसभा तथा अधिवेशनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, सरसफाइ तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट स्वीकृत गरेको हो।
गाउँपालिका अध्यक्ष शम्भु यादवको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष सुनैना देवी चौधरीले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिनुभयो।
गाउँपालिकाले स्थानीय तहको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनमुखी योजनाको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको जनाएको छ।
गाउँसभामा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले विकास निर्माणका कामलाई पारदर्शी र प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए।
गाउँसभाले आगामी वर्षका लागि विकास निर्माण र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



