
बाराको सिम्रौनगढ नगरपालिका–१ ढाँट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा एक घरमा क्षति पुगेको छ।
स्थानीय राजेन्द्र मुखियाका छोरा अन्दाजी २७ वर्षीय जलेन्द्र मुखियाको खरले छाएको फुसको भान्सा कोठामा विद्युत् तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
दिउँसो करिब १ बजे सुरु भएको आगलागीबाट घरभित्र रहेका कपडा, दाउरा, भाँडाकुँडा लगायतका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ३५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ। स्थानीयवासी, दमकल तथा प्रहरीको संयुक्त प्रयासमा आगो करिब १ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पथलवाघाट बाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।



