प्रदेश समाचारमधेशसमाचारस्थानिय

सिम्रौनगढ नगरपालिकाको ११ औँ नगरसभा सम्पन्न, आगामी आर्थिक वर्षका लागि ६१ करोड ६३ लाख ५० हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत

सिम्रौनगढ, बारा । सिम्रौनगढ नगरपालिकाको ११ औँ नगरसभा बुधबार भव्य रूपमा सम्पन्न भएको छ। नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम तथा बजेटको आधार प्रस्तुत गरिएको छ।

नगरसभाको अध्यक्षता नगर प्रमुख किशोरी साह कलवारले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख प्रशासकीय नवराज अधिकारीको उपस्थिति रहेको थियो। बिशिस्ट अथितीहरुमा उपप्रमुख नजमु शेहर, सहायक प्रमुख तथा शिक्षा शाखा प्रमुख वीरबहादुर साह लहेरा, लेखा प्रमुख मनीष साह कलवार, वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नगरसभामा नगर प्रमुख किशोरी साह कलवारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा, महिला तथा बालबालिका सशक्तीकरण, रोजगार प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। नगर प्रमुख कलवारले नगरवासीको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर समावेशी तथा दिगो विकासको अवधारणाअनुसार नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिनुभयो। उहाँले नगरपालिकाको आन्तरिक आय अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता, डिजिटल प्रविधिको प्रयोग, सडक तथा सार्वजनिक पूर्वाधार निर्माण, कृषि उत्पादन वृद्धि तथा युवामैत्री कार्यक्रमलाई आगामी वर्षको मुख्य लक्ष्य बनाइएको बताउनुभयो। नगरसभामा प्रस्तुत स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको प्रतिवेदनअनुसार आगामी आर्थिक वर्षका लागि नगरपालिकाको कुल अनुमानित आय ६१ करोड ६३ लाख ५० हजार रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।

जसअनुसार संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ५६ लाख रुपैयाँ, सशर्त चालु अनुदान २४ करोड ६७ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदान २ करोड १९ लाख रुपैयाँ, समपूरक अनुदान ५३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ३९ लाख रुपैयाँ, समपूरक अनुदान २० लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ तथा सशर्त अनुदान ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

नगरपालिकाले घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ६५ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर (VAT) बाँडफाँडबाट ८ करोड २५ लाख ५३ हजार रुपैयाँ, अन्तःशुल्क बाँडफाँडबाट ३ करोड ५३ लाख ८० हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ८८ लाख ५७ हजार रुपैयाँ, बैंक मौज्दातबाट १ करोड रुपैयाँ, आन्तरिक स्रोतबाट ४ करोड १० लाख रुपैयाँ तथा सडक बोर्डबाट ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले स्थानीय तहको विकासको नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै जनप्रतिनिधि, कर्मचारी तथा नागरिकबीचको समन्वयबाट मात्र समृद्ध नगर निर्माण सम्भव हुने बताउनुभयो।

नगरसभामा उपस्थित जनप्रतिनिधिहरूले नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा राख्दै नगर विकास, सेवा प्रवाह सुधार तथा नागरिकका आधारभूत आवश्यकतामा केन्द्रित भएर कार्य गर्न सुझाव दिएका थिए।

कार्यक्रमको अन्त्यमा नगर प्रमुख किशोरी साह कलवारले नगरसभालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सहभागीहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तुत नीति तथा कार्यक्रम नगरवासीको जीवनस्तर उकास्ने दिशामा केन्द्रित रहेको विश्वास व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button