विश्रामपुर गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ३५ करोड ५१ लाखभन्दा बढीको बजेट प्रस्तुत
विश्रामपुर गाउँपालिकाको १९ औँ गाउँसभा शनिबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रियांका देवीको सहकार्यमा वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार यादवले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले स्वागत मन्तव्य व्यक्त गर्दै गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह तथा सुशासनलाई प्रभावकारी बनाउने लक्ष्यसहित योजना अघि बढाइएको बताएका थिए।
सभामा प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कुल ३५ करोड ५१ लाख ३१ हजार रुपैयाँ बराबरको विनियोजन प्रस्ताव गरिएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, सामाजिक विकास, विपद् व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको छ।
गाउँसभामा प्रस्तुत विवरणअनुसार संघीय सरकारबाट विशेष अनुदानतर्फ १ करोड ७६ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ २५ लाख रुपैयाँ तथा सशर्त अनुदानअन्तर्गत पूँजीगततर्फ ८८ लाख रुपैयाँ र चालुतर्फ ११ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै मधेश प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ २० लाख तथा विशेष अनुदानतर्फ ३० लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
आर्थिक विकासतर्फ कृषि तथा पशु विकासका लागि ४० लाख रुपैयाँ, सिँचाइका लागि १७ लाख रुपैयाँ, उद्योग तथा वाणिज्य प्रवर्द्धनका लागि ५ लाख रुपैयाँ तथा रोजगार सेवा केन्द्र सञ्चालनका लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ स्वास्थ्य क्षेत्रमा ५० लाख रुपैयाँ, शिक्षातर्फ १ करोड ९० लाख ८३ हजार रुपैयाँ, खानेपानी तथा सरसफाइमा ८ लाख रुपैयाँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रममा ५ लाख रुपैयाँ र लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि २५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि समेत १८ लाख रुपैयाँ छुट्याइएको छ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक तथा पुल निर्माणका लागि १ करोड ५७ लाख रुपैयाँ, भवन तथा सहरी विकासतर्फ १ करोड ५६ लाख रुपैयाँ तथा ऊर्जा क्षेत्रका लागि ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापनका लागि ७ लाख रुपैयाँ छुट्याइएको छ।
सुशासन तथा संस्थागत विकासअन्तर्गत प्रशासनिक तथा कार्यालय सञ्चालनका लागि १ करोड ४७ लाख ६३ हजार रुपैयाँ, विद्युतीय सूचना प्रविधि प्रयोगका लागि ५ लाख रुपैयाँ, मर्मत सम्भार कोषका लागि ६४ लाख ४८ हजार रुपैयाँ तथा संस्थागत क्षमता विकासका लागि ५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
वडास्तरमा समेत बजेट विनियोजन गरिएको छ। वडा नम्बर १ देखि ५ सम्म पूर्वाधार, सामाजिक तथा आर्थिक विकासका विभिन्न योजनामा रकम छुट्याइएको गाउँसभामा जानकारी गराइएको थियो।
गाउँसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गाउँपालिकाले कृषि, शिक्षा, सडक तथा आधारभूत सेवामा केन्द्रित भएर बजेट ल्याएको प्रतिक्रिया दिएका छन्।
गाउँसभाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै आगामी आर्थिक वर्षमा प्रभावकारी कार्यान्वयनमा जोड दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।



