रौतहट : ओम प्रकाश यादव / रौतहटमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको गरुडा नगरपालिका -१ जयनगर स्थित गौर चन्द्रनिगाहपुर सडकखण्डमा आज बेलुका पौने ५ बजेको समयमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिल्लाको परोहा नगरपालिका -४ का ४० वर्षीय जितेन्द्र राय यादव,सोही ठाउँका विनय कुमार यादव र देवाही गोनाही नगरपालिका -६ का चण्देश्वर राउतको १९ वर्षीय छोरा अनिल पटेल घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये जितेन्द्र यादवको अवस्था गम्भीर रहेको छ। त्यस्तै विनय कुमार यादवको अवस्था मध्यम रहेको छ भने पटेलको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। दुर्घटनामा परेका तिनै जनाको शिवनगर स्थित संजीवनी अस्पतालमा उपचार भइरहेको डिएसपी कार्कीले बताए।
जयनगरबाट दिपहि तर्फ जाँदै गरेको बि आर ३० एन ७२२६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र दिपहीबाट जयनगर तर्फ जाँदै गरेको बा ३३ प २७११ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।
नेपाली नम्बर प्लेटको मोटरसाइकलमा सामान्य घाइते भएका अनिल पटेल सवार थिए। त्यस्तै भारतीय नम्बरको मोटरसाइकलमा गम्भीर घाइते भएका जितेन्द्र यादव सवार थिए भने सोही मोटरसाइकलको पछाडि उनका दाजु विनय कुमार यादव बसेका थिए।
गम्भीर घाइते भएका जितेन्द्र यादवको टाउकोमा गम्भीर चोट लागेको छ भने बिनय कुमारको पनि टाउकोमा गहिरो चोट लागेको छ। पटेलको भने गर्दनमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
अत्याधिक रक्सी सेवन गरी मोटरसाइकल चलाउँदा ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको छ। आज तराईमा होली पर्व रहेकोले उनीहरू मदिरा सेवन गरी गाडी चलाउँदा दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा परेको दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटना बारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।




