Banner NewsE-PAPERमधेससमाचारसमाज

नेपाल पत्रकार महासंघको मधेश प्रदेश कार्यालय जनकपुरमा स्थापना

जनकपुरधाम, असार २१ :नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको छ। एक समारोहबीच कार्यालयको उद्घाटन भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले गरे।

कार्यालय व्यवस्थापनमा भंगहा नगरपालिकाले फर्निचर, एसी, इनभर्टरजस्ता सामग्री सहयोग गरेको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी उपलब्ध गराएको महासंघका प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्तिले जानकारी दिए। उनका अनुसार पाँच महिनाअघि नै भाडामा घर लिइएको भए पनि आवश्यक उपकरण अभावका कारण कार्यालय सञ्चालनमा आउन सकेको थिएन।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर साहले सञ्चार क्षेत्रको विकासमा स्थानीय सरकारको भूमिका रहेको बताए। उनले पत्रकारहरूलाई तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै पूर्वाग्रही र पित्तपूर्ण समाचारप्रति सचेत रहन सुझाव दिए। साथै, भविष्यमा कार्यालय जनकपुरधाम बाहिर स्थानान्तरण भएमा भंगहामा आफ्नै आमाको नाममा निःशुल्क जग्गा उपलब्ध गराउने घोषणा पनि गरे।

विशिष्ट अतिथि तथा महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहालले तत्काल भाडाको घरबाट सुरु हुनु सकारात्मक कदम भएको बताउँदै भविष्यमा आफ्नै जग्गामा भव्य भवन निर्माण हुने विश्वास व्यक्त गरे। उनले केन्द्रबाट प्रदेश समितिलाई निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाए।

प्रदेश अध्यक्ष राजेन्द्र बञ्जाराले दुवै नगरपालिकाको सहयोगले पत्रकारिता सेवा प्रवाह थप सहज भएको बताए। उनले यसै कार्यकालमा महासंघको सुविधा सम्पन्न भवन निर्माणको लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रममा केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी प्रमुख डिआइजी कृष्णराज ढकाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा लगायतले शुभकामना मन्तव्य दिए।

त्यस्तै, महासंघका केन्द्रीय सदस्यहरू राजेश कर्ण, सिकेन्द्र पासवान, राजश विश्वकर्मा, सप्तरी अध्यक्ष श्रवण देव, धनुषा अध्यक्ष पुरण साह, बारा अध्यक्ष रमेश सुवेदी, प्रेस युनियन प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रविण साह, दलित पत्रकार महासंघका प्रदेश अध्यक्ष कैलास दास लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button