जनकपुरधाम : वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुनुका साथै रोपिएका धानबाली सुक्न थालेपछि मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकले प्रदेशका किसानलाई लक्षित गर्दै विशेष राहत प्याकेजको माग गर्दै संघीय सरकारसँग औपचारिक आग्रह गर्ने निर्णय पनि गरेको छ। धान रोप्नै नसकिएको तथा रोपिएको धान खेतमै सुक्न थालेको अवस्था झनै गम्भीर बन्दै गएको भन्दै मन्त्रिपरिषद्ले तत्काल राहत प्याकेज आवश्यक रहेको निष्कर्ष निकालेको हो।
साथै बैठकले कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि संकट समाधानमा सहयोग गर्न प्रदेश सरकारले आह्वान गर्ने निर्णय गरेको छ।
त्यस्तै, बैठकले पर्साको वीरगन्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णयसमेत गरेको छ। तत्कालीन आवश्यकताको आधारमा ट्याङ्करलगायतका माध्यमबाट खानेपानी आपूर्ति गर्ने र संघीय खानेपानी मन्त्रालयसँग आवश्यक समन्वय र सहयोगका लागि आग्रह गर्ने निर्णय गरिएको छ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले जनताको जीवन र जीविकासँग जोडिएका हरेक संकट समाधानमा गम्भीर पहल गरिरहेको बताएका छन्।




