निगौल गाई गौशालाले कर्मचारी खटाएर राजश्व संकलनको जिम्मा पाएका विपिन साहको टोली र नगरपालिकाका वडाध्यक्ष श्याम मण्डलको टोलीबिच दोहोरो झडप भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । विवादमा परी नगरपालिकाको तर्फबाट खटिएका गौशाला नगरपालिका -२ का वडाध्यक्ष श्याम मण्डलसहित करिब १२/१५ जना घाइते भएका छन् हातहतियारसहित आएको टोलीले राजश्व संकलन गरिरहेको विपिन साहको टोलीमाथि आक्रमण गरेको स्थानीयबासीहरूको भनाइ छ।
गौशाला नगरपालिका- २ का वडाध्यक्ष श्याम मण्डलको कानमा गहिरो घाउ लागेको छ । उनीसँगै आएका सचिन महतो र सुरेन्द्र महतो र जसपा नेपाल पार्टीका नगर संयोजक कुमारकान्त झा पनि घाइते भएको इलाका प्रहरी कार्यालयका वरिष्ठ सइ राजेश यादवले अन्नपूर्णलाई बताए । यसैगरी निगौल गाई गौशालाको तर्फबाट राजश्व संकलन गरिरहेका विपिन साह,सुनिल साहको टाउकोमा गम्भीर चोट लागेको छ भने, दिपेन्द्र यादव (गब्बर) र सरोज साहलाई समान्य चोटपटक लागेको छ ।
निगौल गाई गौशालाको कार्यालय र गौशाला नगरपालिकाको कार्यालयबिच २०७० मा गोरु र खसी बजार ठेक्का बापतको २५ प्रतिशत रकम निगौल गाई गौशालालाई उपलब्ध गराउने सम्झौता भएको थियो । तर, गाई गौशालाले सम्झौताअनुरुपको रकम पाएको छैन । नगरपालिकाले रकम दिन आनाकानी गर्दै आएकोमा गाई गौशालाले तत्कालका लागि अमानतमा बजार ठेक्का लगाएको छ । सोही ठेक्काको राजश्व संकलन गरिरहेको गाई गौशालाको समूह र गौशाला नगरपालिकाको समूहबिच झडप भएको हो ।
निगौल गाई गौशाला व्यवस्थापन कार्यालयले पटक–पटक लिखित तथा मौखिक रुपमा गौशाला नगरपालिकालाई सम्झौता अनुरुपको रकम बुझाउन अनुरोध गरेपनि नगरपालिकाले वेवास्ता गर्दै आएको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए ।
गौशाला नगरपालिका कार्यालयले ठेक्का बापतको ५ करोड भन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफै लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाले जनाएको छ । गाई गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका ५ कित्ता नं। ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको छ ।
गाडीमा आक्रमण, साढे ७ लाख लुटियो
गाई गौशाला र नगरपालिकाको झडपको क्रममा ७ लाख ५० हजार रकम लुटिएको व्यवसायी प्रमोद महतोको आरोप छ । उनले भने,‘झडपका क्रममा मेरो बागमति प्रदेश ०१,०२७ च ९७४७ नम्बरको गाडी तोडफोड गरेर साढे ७ लाख रुपैयाँ लुटेर लगिएको छ ।’
गौशालाका युवा व्यवसायी महतोका अनुसार गाडीमाथि भाटाले प्रहार गरेर अगाडिको सिसा फोडेर ७ लाख ५ हजार रुपैयाँसहितको झोला सुरेन्द्र महतोले लुटेर लगेका छन् । महतो चढने गाडीमाथि तोडफोड भएको छ।




