अमेरिकाको क्यालिफोर्नियामा बुधबार साँझ एक अत्याधुनिक एफ-३५सी लडाकु विमान दुर्घटनामा परेको छ। नेभल एयर स्टेसन लेमूर नजिकै दुर्घटनाग्रस्त भएको विमान अमेरिकी नौसेनाको भीएफ-१२५ ‘रफ राइडर्स’ स्क्वाड्रन अन्तर्गतको हो।
स्थानीय समय अनुसार साँझ ६:३० बजे भएको दुर्घटनामा पाइलटले समयमै इजेक्ट गर्दै आफ्नो ज्यान बचाउन सफल भएका छन्। घटनाको अनुसन्धान प्रारम्भ भइसकेको जनाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किरहेको देखिन्छ। दुर्घटना स्थल फ्रेस्नो शहरबाट करिब ६४ किलोमिटर दक्षिणपश्चिममा खुला खेतबाली क्षेत्रमा रहेको बताइएको छ।
फ्रेस्नो काउन्टी शेरिफ कार्यालयका अनुसार स्थानीय आपतकालीन सेवा टोली (ईएमएस) र क्याल फायरका सदस्यहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए र पाइलटलाई आवश्यक प्राथमिक उपचार प्रदान गरिएको छ।
दुर्घटनाग्रस्त विमान अमेरिकी नौसेनाको विमानवाहकका लागि विशेष रूपले डिजाइन गरिएको एफ-३५सी संस्करण हो, जुन स्टिल्थ प्रविधियुक्त पाँचौं पुस्ताको लडाकु विमान हो। लकहिड मार्टिनद्वारा निर्मित यो विमानको अनुमानित मूल्य करिब ८०० करोड रुपैयाँ रहेको छ।
यो सन् २०२५ मा अमेरिकी एफ-३५ विमान दुर्घटनाको दोस्रो घटना हो। यसअघि जनवरी महिनाको सुरुमा अलास्काको एक एयरबेसमा यस्तै अर्को एफ-३५ दुर्घटना भएको थियो, जसमा पनि पाइलट सकुशल रहेका थिए।
अहिलेको दुर्घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।




