Banner Newsमधेसराजनीतिसमाचार

रामपुरमा ई. अरविन्द साहको घरदैलो “किसानको समस्या समाधान नगरी विकास सम्भव छैन”

कलैया , २९ माघ
बारा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिका वडा नं. ९ रामपुरमा बिहिबार घरदैलो कार्यक्रम गर्दै किसानका मुद्दालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
घरदैलोका क्रममा साहले रामपुरका किसान तथा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै कृषि क्षेत्रलाई व्यवस्थित नगरी समग्र आर्थिक र सामाजिक विकास सम्भव नहुने स्पष्ट पारे। उनले कृषि उत्पादन बढाउन समयमै मल, गुणस्तरीय बिउ र सिँचाइको सुनिश्चितता अपरिहार्य रहेको बताए।
“किसानले मल र बिउका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” साहले भने, “राज्यले किसानलाई उत्पादनमा केन्द्रित हुने वातावरण बनाइदिनुपर्छ। मल, बिउ र सिँचाइ सुनिश्चित नभएसम्म कृषि आत्मनिर्भर बन्न सक्दैन।”
ई. साहले वर्षामा मात्र निर्भर खेती प्रणालीले किसानलाई असुरक्षित बनाएको उल्लेख गर्दै दीर्घकालीन सिँचाइ योजनाको आवश्यकता औँल्याए। सिँचाइ संरचनाको विस्तारसँगै नियमित मर्मतसम्भारलाई प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाए।
त्यस्तै, उत्पादनपछि पनि किसानले उचित मूल्य नपाउने समस्या गम्भीर रहेको बताउँदै साहले सरकारी तहबाट बजारीकरणमा सहजीकरण, भण्डारण र मूल्य स्थिरीकरणको व्यवस्था गर्नुपर्ने बताए।
“उत्पादन भएर पनि बजार नपाउने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने।
घरदैलो कार्यक्रममा साहले डिजिटल प्रविधि र सूचनाको प्रयोगमार्फत किसानलाई बजार, मौसम र मूल्यसम्बन्धी जानकारी समयमै उपलब्ध गराउने नीति आवश्यक रहेको बताए। प्रविधिमैत्री कृषि प्रणालीले लागत घटाउने र आम्दानी बढाउने उनको धारणा छ।
घरदैलोका क्रममा ई. अरविन्द साहले आगामी निर्वाचनमा घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै किसानका समस्या र मागलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे। स्थानीयवासीले पनि उम्मेदवार स्वयं गाउँ–टोलमा आएर समस्या सुनेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन्। यससँगै बारा क्षेत्र नं. ३ मा रास्वपाको चुनावी अभियान किसानकेन्द्रित एजेन्डासहित थप सक्रिय बन्दै गएको देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button