बारा । बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिकाको फेटा बजारमा जनमत पार्टीको कोणसभा सम्पन्न भएको छ। जनमत पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हसन जान मियाँको नेतृत्वमा आयोजित उक्त कोणसभामा स्थानीय मतदाता तथा पार्टी कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार मियाँले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको सुधारलाई आफ्नो प्राथमिकतामा राखेको बताए। उनले फेटा गाउँपालिका सहित बारा क्षेत्रका जनताको आधारभूत समस्या समाधानका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै, समावेशी विकास र सुशासनमार्फत जनताको जीवनस्तर उकास्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
कार्यक्रममा जनमत पार्टीका स्थानीय नेताहरूले पनि मन्तव्य राख्दै पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराएका थिए। उनीहरूले आगामी निर्वाचनमा जनमत पार्टीलाई विजयी गराउन सबैलाई एकताबद्ध हुन आग्रह गरे।
उक्त कोणसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
0 1 1 minute read



