प्रादेशिक अस्पताल कलैयामा दुई मन्त्रीको आकस्मिक अनुगमन, सेवा सुधार र पूर्वाधार विकासमा प्रदेश सरकारको प्रतिबद्धता

कलैया, बारा । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीर र स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद साह ले सोमबार बाराको प्रादेशिक अस्पताल कलैया को संयुक्त रूपमा स्थलगत अनुगमन गर्दै अस्पतालको सेवा प्रवाह, पूर्वाधार अवस्था तथा स्वास्थ्य सेवाको गुणस्तरबारे विस्तृत जानकारी लिएका छन्।
अनुगमनका क्रममा मन्त्रीद्वयले अस्पतालको इमर्जेन्सी वार्ड, आईसीयू, ब्लड बैंक, एक्स–रे कक्ष, प्रयोगशाला (ल्याब), ओपीडी, फार्मेसी, सामाजिक सेवा इकाइ, क्यास काउन्टर लगायतका विभिन्न शाखा तथा सेवा केन्द्रहरूको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीसँग समेत प्रत्यक्ष संवाद गरी सेवा प्रवाहको अवस्था बुझिएको थियो।
अनुगमनपश्चात आयोजित कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीर ले प्रादेशिक अस्पताल कलैयाको भौतिक संरचना विस्तार तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए। उनले आफ्नो मन्त्रालयबाट अस्पतालमा क्यान्टिन, चमेना गृह तथा नयाँ भवन निर्माणका लागि उल्लेखनीय बजेट व्यवस्था गरिएको जानकारी दिँदै स्वास्थ्य संस्थाको पूर्वाधार विकासलाई तीव्रता दिइने बताए।
मन्त्री समीरले अस्पतालमा देखिएका केही व्यवस्थापकीय तथा प्राविधिक कमजोरीप्रति ध्यानाकर्षण गराउँदै कर्मचारी तथा व्यवस्थापन पक्षलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गरे। “जनताले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउनुपर्छ। त्यसका लागि अस्पताल प्रशासनले देखिएका कमी–कमजोरी सुधार गर्दै सेवा प्रवाहलाई अझ चुस्त र व्यवस्थित बनाउन आवश्यक छ,” उनले भने।
त्यसैगरी स्वास्थ्य मन्त्री नागेन्द्र प्रसाद साह ले अस्पतालमा औषधिको उपलब्धता, स्वास्थ्यकर्मीको अवस्था, उपकरणको प्रयोग तथा सेवा प्रवाहबारे जानकारी लिएका थिए। उनले प्रदेश सरकार नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रादेशिक अस्पतालहरूले पाउनुपर्ने सेवा, सुविधा, औषधि तथा आवश्यक जनशक्ति व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए।
मन्त्री साहले अस्पताल प्रशासनलाई सेवाग्राहीप्रति उत्तरदायी र संवेदनशील बन्न निर्देशन दिँदै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। अनुगमन टोलीमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जवाहिर अन्सारी, सदस्य प्रतिमा देवी यादव, मेडिकल सुपरिटेन्डेन्ट (मेसु), चिकित्सक, ल्याब प्राविधिक तथा विभिन्न शाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा अस्पतालका केही विभागमा व्यवस्थापन तथा सेवा प्रवाहसँग सम्बन्धित कमजोरीहरू देखिएपछि मन्त्रीद्वयले ती समस्याहरू तत्काल सुधार गर्न निर्देशन दिएका छन्। साथै अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। दुई मन्त्रीको संयुक्त अनुगमनलाई प्रादेशिक अस्पताल कलैयाको सेवा सुधार, पूर्वाधार विस्तार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। स्थानीयवासी तथा सेवाग्राहीहरूले पनि अनुगमनपछि अस्पतालको सेवा थप प्रभावकारी र व्यवस्थित हुने अपेक्षा व्यक्त गरेका छन्।



