काठमाडौं,२३ जेठ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि निर्धारण गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को **राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट)**माथि सामान्य छलफल अघि बढाउने प्रस्ताव पेश गर्ने तयारी छ। बैठकमा बजेटमाथिको विस्तृत बहस अपेक्षित गरिएको छ।
आजको कार्यसूचीअनुसार, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन, २०८२ पेस गर्ने कार्यक्रम रहेको छ। साथै, विषयगत समितिहरूमा सदस्य हेरफेर तथा प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने छन्।
तर, भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। जेठ १५ मा बजेट पेसका लागि मात्र संसद चल्न दिएको भए पनि त्यसपछिका बैठकहरूमा पनि अवरोध जारी छ। सो कारण आजको बैठक पनि सामान्य ढंगले अघि बढ्ने सम्भावना न्यून देखिएको छ।




