बारा, २२ माघ
जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिकाको अध्यक्ष पदका भावी उम्मेदवार उमेश दुबेले जिल्लावासीलाई आगामी निर्वाचनमा टुरिष्ट र भुमीपुत्र उम्मेदवारबीच स्पष्ट भिन्नता छुट्याएर मात्र आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गर्नुभएको छ। उनले स्थानीय जनताको सुख–दुःखमा साथ दिने, सधैं उपलब्ध हुने र क्षेत्रको विकासप्रति जिम्मेवार रहने नेतृत्व केवल भुमीपुत्र उम्मेदवारबाटै सम्भव हुने दाबी गर्नुभयो।
बारा जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दुबेले पछिल्लो समय नयाँ पार्टीको नाम र आकर्षक नाराको आडमा मधेसका मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको आरोप लगाउनुभयो। उनले विशेषगरी बाहिरबाट आउने ‘टुरिष्ट’ उम्मेदवारहरू चुनावको बेला मात्र देखिने र जितेपछि जनतासँग टाढा हुने प्रवृत्ति बढ्दै गएको बताउनुभयो। “निर्वाचन नजिकिँदै जाँदा धेरै नेताहरू मत माग्न घरदैलोमा पुग्छन्, तर जितेपछि पाँच वर्षसम्म अनुहार देखिँदैन,” उनले भन्नुभयो, “त्यस्ता उम्मेदवारले क्षेत्रको वास्तविक समस्या बुझ्न सक्दैनन्।”
दुबेले नयाँ दलको नाममा मधेस प्रदेश मात्र नभई देशभरिका नागरिकलाई भ्रमित पार्ने काम भइरहेको उल्लेख गर्दै रास्वपा पार्टीको नामसमेत लिएर टिप्पणी गर्नुभयो। उनले विगतको निर्वाचनमा सो पार्टीबाट २१ सिट जितिएको उदाहरण दिँदै ‘नयाँ’ नामको आवरणमा पुरानै प्रवृत्ति दोहोर्याइएको आरोप लगाउनुभयो। “नयाँ पार्टी भनेर जनतालाई आशा देखाइन्छ, तर उम्मेदवारहरू अधिकांश टुरिष्ट हुन्छन्,” उनले भने, “जनताको आवश्यकता र भावनासँग जोडिएको नेतृत्व भने स्थानीय भुमीपुत्रमै पाइन्छ।”
उनका अनुसार टुरिष्ट उम्मेदवारले चुनाव जितेपछि क्षेत्रका जनताको समस्या समाधानमा निरन्तरता दिन सक्दैनन्। “जितेपछि आउँछन् कि आउँदैनन् भन्ने नै थाहा हुँदैन, तर पराजित भए भने पक्कै फर्केर हेर्दैनन्,” उनले ठोकुवा गर्नुभयो। त्यसको विपरीत भुमीपुत्र उम्मेदवार सधैं जनताबीच रहने, समस्या पर्दा तुरुन्तै उपस्थित हुने र विकासका योजनामा प्रत्यक्ष चासो दिने भएकाले उनीहरू नै विश्वासयोग्य हुने दुबेले दाबी गर्नुभयो।
दुबेले जनतासँग भावनात्मक सम्बन्ध राख्ने नेतृत्वको आवश्यकता औंल्याउँदै स्थानीय स्रोत, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीजस्ता क्षेत्रमा दीर्घकालीन विकासका लागि स्थानीय प्रतिनिधि अनिवार्य रहेको बताउनुभयो। “जनताको सुख–दुःखमा साथ दिने, जनताले चाहेको बेला उपलब्ध हुने र जनताको मतको कदर गर्ने नेता भुमीपुत्र नै हो,” उनले भने, “त्यसैले यसपटक मत हाल्दा राम्रोसँग सोचेर आफ्नो एकाधिकार मत प्रयोग गर्नुस्।”
उनले आगामी निर्वाचनमा चेतनशील भई टुरिष्ट र भुमीपुत्र उम्मेदवारको पहिचान गरी स्थानीय नेतृत्वलाई जिताउन सबै जिल्लावासीलाई अपिल गर्नुभयो। “हामी आफ्नै माटोका सन्तानलाई अवसर दिँदा मात्रै हाम्रो गाउँ–समाज र मधेसको समग्र विकास सम्भव हुन्छ,” दुबेले निष्कर्षमा भन्नुभयो।
उनले डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीलाई स्पष्ट रूपमा स्थानीय जनताको अधिकार, पहिचान र विकासका मुद्दामा केन्द्रित दलको रूपमा चित्रित गर्दै कुनै पनि टुरिष्ट वा बहुरूपिया उम्मेदवारलाई पार्टीमा स्थान नदिइएको दाबी गर्नुभयो। जनताको भावना र आवश्यकतासँग जोडिएका, यही माटोमा जन्मिएका र यहीँको समस्या भोगेका व्यक्तिलाई मात्रै उम्मेदवार बनाउने नीति जनमत पार्टीले अपनाएको उनको भनाइ थियो।
“जनमत पार्टीमा बाहिरबाट चुनावको बेला मात्र झर्ने टुरिष्ट नेताहरूको ठाउँ छैन,” दुबेले भन्नुभयो, “हामी यही माटोका सन्तान हौँ, जनताको सुख–दुःखसँगै हुर्किएका हौँ, त्यसैले जनताको पीडा पनि बुझ्छौं र समाधान पनि गर्न सक्छौं।” उनले जनमत पार्टीले देखावटी राजनीति नभई व्यवहारिक र जनमुखी राजनीति गर्ने प्रतिबद्धता लिएको उल्लेख गर्नुभयो।
दुबेले जिल्लावासीलाई अन्य पार्टीको भ्रममा नपरी एकपटक जनमत पार्टीलाई मौका दिन आग्रह गर्दै स्थानीय विकास, पारदर्शिता र जनउत्तरदायी नेतृत्वको लागि जनमत नै सही विकल्प भएको दाबी गर्नुभयो। “अब टुरिष्ट होइन, भुमीपुत्र रोज्ने समय आएको छ,” उनले भने, “जनताको अधिकार र भविष्य सुनिश्चित गर्न जनमत पार्टीलाई साथ र सहयोग गर्न अपिल गर्नु भयो ।



