कलैया, २२ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ईन्जिनियर अरबिन्द साहको बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी मिटर निरन्तर उकालो लाग्दै गएको छ। सुरुवातमा उज्यालो पार्टीबाट बारा–२ मा उम्मेदवारी दिने घोषणा गरेका साहले एकाएक बारा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गराएसँगै स्थानीय राजनीतिक माहोल तातिएको छ।
उम्मेदवारी दर्ता पश्चात् साहले थालेको निरन्तर घरदैलो तथा जनसम्पर्क अभियानले जनतामा नयाँ आशा र विश्वास जगाएको स्थानीयहरूको भनाइ छ। देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कुशासनबाट दिक्क भएका मतदाताहरू यसपटक परिवर्तनको पक्षमा उभिन चाहेको उनीहरू बताउँछन्।
स्थानीय मतदाताका अनुसार अब देशमा वास्तविक परिवर्तन ल्याउन घण्टी छापमै मतदान गर्ने मानसिकता बलियो बन्दै गएको देखिन्छ। “पुराना अनुहारहरूबाट धेरै आशा गरियो, तर परिणाम आएन,” एक स्थानीय मतदाताले भने, “यसपटक नयाँ सोच र इमानदार नेतृत्वलाई अवसर दिनुपर्छ भन्ने भावना जनतामा छ।”
चुनावी अभियानकै क्रममा ईन्जिनियर साहले बिहीबार कलैया उपमहानगरपालिका वडा नं. ६ र ९ मा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। भेटघाटका क्रममा उनले स्थानीयको शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा सुशासनसम्बन्धी समस्या ध्यानपूर्वक सुनेका थिए।
ईन्जिनियर साहले जनतासँग संवाद गर्दै ती समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे। “जनताको समस्या सुन्ने मात्र होइन, समाधान गरेर देखाउने राजनीति आवश्यक छ,” उनले भने, “यदि जनताले विश्वास गरेर जिम्मेवारी दिनुभयो भने बारा–३ लाई विकास र सुशासनको नमुना क्षेत्र बनाउनेछु।”
उनको सरल प्रस्तुति, प्राविधिक पृष्ठभूमि र स्पष्ट दृष्टिकोणका कारण युवादेखि वृद्धसम्मको आकर्षण बढ्दै गएको देखिन्छ। घरदैलोमा देखिएको उत्साह र सहभागिताले बारा–३ मा ईन्जिनियर अरबिन्द साह बलियो प्रतिस्पर्धीका रूपमा उदाउँदै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
चुनाव नजिकिँदै जाँदा साहको चुनावी अभियान थप सशक्त बन्दै गएको र बारा–३ को राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको स्पष्ट देखिन्छ।




