रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित भेरी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
तीनजना नदीमा डुबेकोमा जाजरकोटको नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपालीको मृत्यु भएको हो। उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि आठबिसकोट नगर अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
अन्य दुईजना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा नलगाड–८ मन्मैका १० वर्षीय महेश कुसारी र १२ वर्षीया आशा कुसारी रहेका छन्।
शुक्रबार दिउँसो करिब २ः१५ बजे विद्यालयबाट फर्किने क्रममा तीन बालबालिका भेरी नदीको बगरमा पौडी खेल्ने क्रममा गहिरो पानीमा डुबेका थिए। घटनाको जानकारीसँगै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको टोली परिचालन गरिएको थियो।
जाजरकोटका विभिन्न प्रहरी इकाइबाट खोज तथा उद्धारका लागि थप टोली खटिएको छ । घटनास्थलमा भगवती नेपालीको लुगा, महेश कुसारीको साईकल, भेष्ट र चप्पल तथा आशा कुसारीको चप्पल फेला परेको छ। नदीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।


