Banner Newsगण्डकीसमाचार

बागमतीका तीन मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको आज तय भएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयले सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै दिउँसो १ बजेका लागि तय शपथ कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो। कार्यालयका अनुसार प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल काठमाण्डौ जानुपर्ने भएकोले शपथ कार्यक्रम अर्को मिति तय नभएसम्मका लागि रोकिएको हो।

मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानून, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण, र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्री नियुक्त गर्नुभएको थियो।

शपथग्रहण कार्यक्रम आइतबार नै हुने भनिएको थियो। तर एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको आग्रहपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ। त्यसपछि आजका लागि पुनः तय गरिएको शपथसमेत स्थगित गरिएको हो।

प्रदेशमा जारी राजनीतिक तनाबका बीच लामाले कांग्रेस संसदीय दलको नेताबाट आफूलाई हटाउने प्रयास भइरहेकै बेला तीन नयाँ मन्त्री नियुक्त गर्नुभएको हो। उहाँविरुद्ध आफ्नै पार्टीका पाँच मन्त्रीले राजीनामा दिएका थिए।

यसैबीच, आइतबार सम्पन्न कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ। पराजित मुख्यमन्त्री लामाले भने आफू पदबाट राजीनामा नदिने अडान सार्वजनिक रूपमा दोहोर्याउँदै आउनुभएको छ।

बागमती प्रदेशमा सत्ता संघर्ष चुलिँदै गएका बेला मन्त्री शपथ स्थगनले प्रदेश राजनीतिमा थप अन्योलता निम्त्याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button