बारा, साउन १५ :बारा जिल्लाको पचरौता नगरपालिका–६ का स्थानीयवासीले आफ्नो क्षेत्रमा बिधुत ट्रान्सफार्मर जडानको माग गर्दै नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र, सिमरौनगढको मूल गेट अगाडि धर्ना तथा विरोध प्रदर्शन सुरु गरेका छन्।
वर्षौंदेखि नियमित रूपमा बिधुत सेवा नपाएको गुनासो गर्दै स्थानीयवासीले सोमबार बिहानदेखि आन्दोलन थालेका हुन्। उनीहरूले माग पुरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्।
आन्दोलनको अगुवाइ वडा अध्यक्ष मकबूल मियाँ अन्सारीले गरेका छन्। उनले भने, “हाम्रो वडामा ट्रान्सफार्मरको अत्यावश्यकता छ। पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको छ। अब आन्दोलनबाहेक विकल्प छैन।”
स्थानियले मूल ढोकामा नाराबाजी गर्दै नेपाल बिधुत प्राधिकरणको उदासीनताप्रति गम्भीर असन्तोष जनाएका छन्। उनीहरूको भनाइमा, लगातारको माग, निवेदन र भेटघाटबाट कुनै परिणाम नआएको हुँदा बाध्य भएर सडकमा आउनु परेको हो।
नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमरौनगढले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि आन्दोलन चर्किँदै गए सेवा प्रवाहमा असर पर्न सक्ने संकेत देखिएको छ।




