Banner Newsसमाचार

मनसुन थप सक्रिय : कृषि मौसम सल्लाह बुलेटिन जारी, किसानलाई विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं :जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि देशभर मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र राष्ट्रिय कृषि वातारवरण अनुसन्धान केन्द्रले विभागसँग सहकार्य गर्दै जारी गरेको बुलेटिनमा भारीदेखि अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा विशेष ध्यान दिन किसानलाई आग्रह गरिएको छ।

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार बुलेटिनमा उल्लेखित सिफारिसहरू पालना गर्न सकेमा किसानले बालीनालीलाई सम्भावित क्षतिबाट जोगाउन सक्छन्।

उनका अनुसार मनसुन सक्रिय हुने अवधिमा तरकारीबाली, फलफूलका बगैँचा तथा पाँक्न लागेको धानमा उचित पानी निकासको व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी तथा खोलाछेउका संरचनालाई बाढी जोखिमबाट जोगाउन सामग्रीहरू सुरक्षित स्थानमा राख्न सिफारिस गरिएको छ।

यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीनदिने मौसम पूर्वानुमानलाई ध्यानपूर्वक अध्ययन गरी सोहीअनुसार कृषि व्यवस्थापन गर्न, असोज १७ देखि १९ सम्म मनसुन सक्रिय रहने भएकाले धान नकाट्न वा काटेको भए तुरुन्त भित्र्याउन, अग्लो ठाउँमा भण्डारण गर्न तथा तरकारी नर्सरीमा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिइएको छ।

बुलेटिनमा बर्सातका कारण मौरीको चरन क्षेत्रमा कमी हुने भएकाले चिनी चास्नी खुवाउन, पशुबस्तुलाई पानीमा भिज्न नदिने, सफा र ओभानो ठाउँमा दाना भण्डारण गर्न, भिजेको वा बाढी पसेको घाँस, पराल वा अन्न नखुवाउन आग्रह गरिएको छ।

त्यस्तै, चिसो स्थानमा भण्डारण गरिएको दानामा ढुसी लाग्न सक्ने र यसले पशुबस्तुको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सतर्क रहनु आवश्यक रहेको बुलेटिनमा उल्लेख छ। ढुसी युक्त दाना वा परालले दीर्घकालीन रूपमा क्यान्सरको जोखिम समेत बढाउन सक्ने चेतावनी दिइएको छ।

साथै, कुखुराको खोरमा जुम्रा र सुलसुलेजस्ता बाह्य परजीवीको जोखिम हुने भएकाले दैनिक अनुगमन गर्न, समस्या देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन तथा माछा पोखरीमा धमिलो पानी प्रवेश रोक्न निकासद्वारमा उपयुक्त जाली राख्न सल्लाह दिइएको छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले हाल देशभर बदली रहेको र शुक्रबारदेखि न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेकाले किसान तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button