कलैया , २९ माघ
नेपाली कांग्रेस बारा जिल्ला सहसचिव राजेश रौनियार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका पार्टीका अर्का सहसचिव भैयाराम यादवलाई विजयी गराउन अहोरात्र चुनावी मैदानमा खटिएका छन्।
चुनावी सरगर्मी बढ्दै गएको बारा–२ मा रौनियारले गाउँ–टोल, बस्ती–बस्ती पुगेर पार्टीको संगठन सुदृढ गर्ने, मतदाता भेटघाट गर्ने र कांग्रेसको एजेन्डा जनता समक्ष पुर्याउने कामलाई तीव्र बनाएका छन्। उनी घरदैलो, कोणसभा, कार्यकर्ता भेटघाट तथा जनसंवाद कार्यक्रममा निरन्तर सहभागी हुँदै आएका छन्।
राजेश रौनियारले कांग्रेसको ऐतिहासिक योगदान, लोकतन्त्रको रक्षा, समावेशी विकास र सुशासनलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्दै उम्मेदवार भैयाराम यादव जनताको भरोसा योग्य विकल्प भएको दाबी गरेका छन्। साथै उनले “बारा–२ को विकास, स्थायित्व र जनताको अधिकार सुनिश्चित गर्न भैयाराम यादव जस्तो अनुभवी र समर्पित नेतृत्व आवश्यक रहेको बताएका छन् । उहाँलाई जिताउनु कांग्रेस कार्यकर्ताको साझा दायित्व हो।”
रौनियारले वडास्तरका पार्टी संरचना सक्रिय बनाउँदै युवादेखि ज्येष्ठ कार्यकर्ता सम्मलाई अभियानमा जोडिरहेका छन्। स्थानीय कार्यकर्ताहरूका अनुसार उनको सक्रियताले चुनावी अभियानमा थप ऊर्जा थपिएको एक स्थानीय कांग्रेस कार्यकर्ताले बताएका छन्।“राजेश रौनियारको सक्रियताले संगठन चलायमान बनेको छ। उहाँ स्वयं घरदैलोमा हिँड्दा कार्यकर्तामा उत्साह बढेको छ।”
चुनाबी अभियानका क्रममा रौनियारले उम्मेदवार भैयाराम यादवको विकास दृष्टिकोणलाई पनि मतदाता माझ पुर्याइरहेका छन्। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाउँदै उनी मतदाताको विश्वास जित्ने प्रयासमा छन्।
राजेश रौनियारले बारा–२ मा नेपाली कांग्रेसको बलियो जनाधार रहेको दाबी गर्दै यसपटक चुनावी परिणाम कांग्रेसको पक्षमा आउने विश्वास व्यक्त गरेका छन्।
“जनतामा कांग्रेसप्रति भरोसा देखिन्छ। सबै नेता–कार्यकर्ता एकजुट भएर लागेमा बारा–२ मा कांग्रेसको जित सुनिश्चित छ।”यससँगै बारा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको चुनावी अभियान थप सशक्त बन्दै गएको देखिएको छ।




