बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ५, प्रस्टोका स्थित जिन्नाद बाबा कृषि सहकारी संस्था लि. द्वारा आयोजित होली मिलन समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष केदार साह तेलीको अध्यक्षतामा सम्पन्न भएको हो। समारोहमा सहकारीका सदस्य, स्थानीय समाजसेवी, पत्रकार, बुद्धिजीवी तथा गाउँवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका कार्यकारी प्रमुख श्रीलाल प्रसाद साहले होली पर्व शान्ति, प्रेम र अनुशासनका साथ मर्यादित तरिकाले मनाउन नगरवासीसँग अनुरोध गर्नुभयो। उहाँले संस्थाले विगत १२ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको स्मरण गराउँदै सहकारीलाई अझ सबल र प्रभावकारी बनाउन सबै सदस्यहरूको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।

समारोहका क्रममा उपस्थित अतिथिहरूलाई रंग र अबिर लगाई सम्मान गरिएको थियो। अन्त्यमा, होली पर्वको सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै समाजलाई एकतामा बाँध्ने, पुराना गुनासा र वैमनस्यता मेट्ने तथा प्रेम र सद्भाव फैलाउने पर्वका रूपमा होली मनाउन आग्रह गरिएको थियो।





