Banner Newsमधेसराजनीतिसमाचार

घाँस काट्ने विषयमा विवाद: समूहिक आक्रमणबाट तीन महिला गम्भीर घाइते, एक पक्राउ

जिल्लाको देवाही गोनाही नगरपालिकामा घाँस काट्ने जस्तो सामान्य विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा भएको सामूहिक झडपमा परी तीन जना महिला गम्भीर घाइते भएका छन्। जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियास्थित खेतमा सोमबार साँझ सुरु भएको भनाभन राति हिंसात्मक आक्रमणमा परिणत भएको हो।
स्थानीयका अनुसार महेश तिवारीको तोरीबारीमा छिमेकी शंकर राय यादवको घरका महिलाहरूले घाँस काटेपछि विवादको बिजारोपण भएको थियो। सोही विषयमा सोमबार साँझ तिवारीकी छोरी अस्मिताले गुनासो गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो।
साँझको सामान्य विवादलाई लिएर राति शंकर राय यादव, उनका छोरा शम्भु राय र परिवारका अन्य सदस्यहरू घरेलु हतियारसहित तिवारीको घरमा प्रवेश गरी अन्धाधुन्ध कुटपिट सुरु गरेका थिए। आक्रमणकारीले महिलाहरूलाई लक्षित गरी साङ्घातिक हमला गरेको पीडित पक्षको आरोप छ।
आक्रमणमा परी महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी र झगडा छुट्याउन पुगेकी छिमेकी बच्चेलाल मुखिया बिनकी ४० वर्षीया श्रीमती अनतिया बिन गम्भीर घाइते भएकी छीन्।
पारिवारिक स्रोतका अनुसार अनतिया बिनको टाउकोमा गम्भीर चोट लागेको छ भने तिवारी दिदीबहिनीको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको हो । घाइते तीनै जनालाई तत्कालै एम्बुलेन्स मार्फत बाराको कलैयास्थित एप्लस अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूका अनुसार उनीहरूको अवस्था जटिल रहेकाले हाल आईसीयूमा राखेर उपचार भइरहेको छ, यद्यपि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बुझिएको छ।
कानुनी कारबाही र अनुसन्धान
घटनालगत्तै सक्रिय भएको प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा स्थानीय शम्भु राय यादवलाई नियन्त्रणमा लिईएको हो । उनलाई हाल इलाका प्रहरी कार्यालय गरुडामा राखेर थप अनुसन्धान अघि बढाइएको छ। घटनाका मुख्य अभियुक्त मानिएका शंकर राय यादव भने हाल फरार छन्। उनले ‘बिरामी परेको’ बहाना बनाएर कतै उपचार गराइरहेको सूचना प्राप्त भएको प्रहरी स्रोतले जनाए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले घटनालाई गम्भीरताका साथ लिएको बताए। उनले भन्ने:
सामान्य विवादलाई लिएर महिलाहरूमाथि भएको यो आक्रमण निन्दनीय छ। हामीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेका छौँ। फरार रहेका अन्य अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ र दोषीलाई कानुन बमोजिम कडा कारबाही गरिनेछ।
हाल टिकुलिया गाउँमा थप अप्रिय घटना हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button