काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बुधबार रौतहट र बारा आउने भएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन भइरहेको देशव्यापी जनसम्पर्क तथा प्रचार अभियानअन्तर्गत भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा हेरिएका शाह मधेशको महत्वपूर्ण जिल्ला रौतहट र बाराको भ्रमणमा निस्किन आउन लागेका छन् ।
पार्टी स्रोतका अनुसार शाह आज बिहान करिब ११:०० बजे सर्लाहीको कर्मैया हुँदै रौतहट प्रवेश गर्ने कार्यक्रम रहेको छ । युवा पुस्तामाझ अत्यन्त लोकप्रिय मानिने शाहको आगमनलाई लिएर रौतहट र बाराको राजनीतिक माहोल तातेको छ भने रास्वपाका कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन् ।
शाहको स्वागतलाई भव्य बनाउने उद्देश्यले रास्वपा रौतहट र बाराले व्यापक तयारी गरेको छ । चन्द्रपुर नगर समितिका संयोजक सुरेन्द्र सापकोटाका अनुसार चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा स्वागत कार्यक्रम आयोजना गरिनेछ ।
“बागमती चोक, चन्द्रपुर चोकदेखि बालचनपुरसम्म विभिन्न स्थानमा भव्य स्वागतको तयारी गरेका छौँ । सम्पूर्ण रौतहटबासी युवा तथा समर्थकहरूलाई यो ऐतिहासिक क्षणमा सहभागी हुन आग्रह गर्दछु,” सापकोटाले बताए ।
निर्धारित कार्यक्रमअनुसार बालेन शाहले रौतहटका विभिन्न निर्वाचन क्षेत्र र मुख्य बजारहरू चपुर र गरुडा
गौर र टिकुलियाँ घाट , औरैया, लवतना र डुमरिया
कुडिया र राजपुर (हाई स्कुल क्षेत्र) दमार लौकाहा र बसन्तपट्टि बन्कुल हनुमान मन्दिर चौक हुँदै बारामा प्रवेश गर्नेछन्।
रौतहट भ्रमणपछि शाह बाराका सिम्रौनगढ, विश्वप्रसिद्ध गढीमाई क्षेत्र तथा कलैयामा दिउँसो २:०० बजे पुग्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य एवम् डाक्टर शुशिल साहले जानकारी दिएका छन्।
बारामा समेत स्थानीय नेता–कार्यकर्ता, युवा र समर्थकहरूसँग भेटघाट तथा संक्षिप्त जनसम्बोधन गर्ने तयारी भइरहेको साहले बताएका छन् । यसले बारा र रौतहट दुवै जिल्लामा रास्वपाको चुनावी अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।
भ्रमणलाई व्यवस्थित र सुरक्षित बनाउन रास्वपाका स्थानीय नेताहरूले मंगलबार जिल्ला प्रशासन तथा सुरक्षा निकायसँग छलफल गरेका छन् । रौतहट क्षेत्र नं. १ का उम्मेदवार राजेश चौधरी, क्षेत्र नं. २ का शेख सगिर र क्षेत्र नं. ३ का उम्मेदवार रवीन्द्र पटेल (धिरज) ले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालसँग भेट गरी सुरक्षा, यातायात तथा भीड व्यवस्थापनबारे आवश्यक समन्वय गरेका हुन् ।
क्षेत्र नं. ३ का उम्मेदवार रवीन्द्र पटेलका अनुसार शाहको आगमनले रौतहट र बारामा रास्वपाको चुनावी अभियानमा नयाँ ऊर्जा थप्नेछ ।
“भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी शासन र जवाफदेही नेतृत्वको सन्देश बोकेर आउनु भएका बालेन शाहको यो भ्रमण मधेशको राजनीतिमा महत्वपूर्ण मोड बन्न सक्छ,” उनले बताए ।




