रौतहट, २९ माघ
रौतहट जिल्लाको विश्रामपुर बजारमा नक्कली नेपाली नोट प्रयोग गर्ने प्रयास गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार किराना पसलबाट पेट्रोल किन्दै गर्दा नक्कली नोट प्रयोग भएको शंका लागेपछि प्रहरीले तत्काल कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बुधबार दिउँसो करिब ४ बजे विश्रामपुर नगरपालिका वडा नं. २ स्थित एक किराना पसलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। पक्राउ पर्नेमा बृन्दावन नगरपालिका वडा नं. २ विश्रामपुर बस्ने अन्दाजी २९ वर्षीय दिपेश पटेल र जिल्ला सर्लाही बरहथवा नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी २० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। उनीहरुले पेट्रोल लिन बिआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए।
किराना पसलबाट पेट्रोल किने बापत भुक्तानी गर्दा उनीहरूले दिएको नेपाली नोट शंकास्पद देखिएपछि पसल सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए। उक्त सुचनाको आधारमा प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरी टोलीले तत्काल दुवै जनालाई नियन्त्रणमा लिई शरीर तथा सामान खानतलासी गरेको थियो।
खानतलासीका क्रममा दिपेश पटेलको गोजीबाट एक हजार रुपैयाँ दरका १२ थान नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, विवेक प्रसाद यादवले प्रयोग गरिरहेको मोबाइलको कभरभित्र लुकाइ राखिएको एक हजार रुपैयाँ दरको दुई थान नक्कली नेपाली नोट गरी जम्मा १४ थान नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालयले जानकारी दिएका छन्।
प्रबक्ता बस्यालको अनुसार नक्कली नोट कारोबार जस्ता गतिविधिले आर्थिक प्रणालीमा गम्भीर असर पार्ने भएकाले यस प्रकारका अपराधमा संलग्न जो–कोहीलाई पनि कडा कारबाही गरिनेछ। साथै, सर्वसाधारणलाई शंकास्पद नोट देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। साथै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रबक्ता बस्यालले बताएका छन्।




