Banner Newsसमाचारसमाजस्थानीय

विकासका लागि बजेट पर्याप्त, तर जनएकताविना विकास सम्भव छैन : नगरप्रमुख बिनोद साह

कलैया, २२ माघ
कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले विकासका लागि बजेटको अभाव नभए पनि जनताको एकरूप सहभागिता र सहयोग नहुँदा अपेक्षित विकास हुन नसकेको बताएका छन्। सुशासन, पारदर्शिता र जवाफदेहिता सम्बन्धी प्रतिबद्धता कार्यक्रम अन्तर्गत आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख साहले यस्तो धारणा राखेका हुन्।
नगरप्रमुख साहका अनुसार नगरको समग्र विकासका लागि नगरभरीका जनताको साझा सोच र एकता अनिवार्य छ। “बजेट प्रयाप्त छ, तर विकास गर्न जनताले सहयोग नगरेसम्म सम्भव हुँदैन,” उनले भने, “सबै नागरिक एक ठाउँमा उभिएर विकासको पक्षमा लागे मात्रै नगर समृद्धिको बाटोमा अगाडि बढ्न सक्छ।”
आफू नगरप्रमुख भएदेखि कुनै पार्टी विशेषको प्रतिनिधि नभई सम्पूर्ण नगरवासीको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको दाबी गर्दै उनले विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखिएको स्पष्ट पारे। नगरप्रमुख साहले सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमले जनताको आवाज सिधै सुन्न र सेवा प्रवाह सुधार गर्न सहयोग पुगेको पनि बताए।
सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार कलैया उपमहानगरपालिका वडा नं. २६ को वडा कार्यालय भवनमा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष धर्मेन्द्र यादवले केन्द्र सरकार, प्रदेश सरकार, नगरपालिकाबाट प्राप्त बजेट तथा वडा स्तरीय बजेटबाट सञ्चालन भएका विकास निर्माणका कामहरूको विवरण सार्वजनिक गरेका थिए।
वडा अध्यक्ष यादवले चालु तथा सम्पन्न विकास योजनाहरूको खर्च विवरण, प्राथमिकता र उपलब्धिलाई पारदर्शी ढंगले प्रस्तुत गर्दै वडा बासीबाट आएका गुनासा तथा सुझावलाई सम्बोधन गरेका थिए। उनले जनताको सहभागिता र निगरानीले विकास कार्यको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, कलैया उपमहानगरपालिकाका कर्मचारीहरू तथा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सडक, ढल निकास, खानेपानी, फोहोर व्यवस्थापन र सेवा प्रवाहसँग सम्बन्धित प्रश्न तथा गुनासा राखेका थिए।
कार्यक्रमले स्थानीय सरकार र जनताबीचको दूरी घटाउने, पारदर्शिता बढाउने र जवाफदेह प्रशासन स्थापित गर्न सहयोग पुगेको सहभागीहरूको प्रतिक्रिया छ। सार्वजनिक सुनुवाईलाई नियमित र प्रभावकारी बनाउनुपर्ने माग समेत स्थानीयले गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button