Banner Newsकृषि

गुणस्तरयुक्त बीउ बिना उत्पादन वृद्धि सम्भव छैन

कलैया, बारा : कृषि उत्पादनको गुणस्तर र परिमाण दुवै बढाउन गुणस्तरयुक्त बीउ अत्यन्तै महत्वपूर्ण रहेको फेटा गाउँपालिकाको कृषि प्राविधिक सन्जय कुश्वाहाले बताएका छन्। उनका अनुसार कुनै पनि बाली जातको बीउ गुणस्तरयुक्त भन्न त्यसमा बंशानुगत जातीय शुद्धता, भौतिक शुद्धता, उपयुक्त चिस्यान, राम्रो उम्रने क्षमता, रोग तथा किरा–मुक्त अवस्था, समान आकार–प्रकार र चमकपनजस्ता गुणहरू तोकिएको मापदण्डअनुसार कायम भएको हुनुपर्दछ।
कुश्वाहाका अनुसार बीउ उत्पादन देखि संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ, बिक्री वितरण र ढुवानीसम्मका सबै चरणमा गुणस्तर निरीक्षण र नियन्त्रणमा ध्यान नदिएमा बीउको गुणस्तरमा ह्रास आउँछ। यसले खेतमा अपेक्षित उत्पादन नआउने, रोगको जोखिम बढ्ने र किसानको लगानी बेकार जाने सम्भावना बढाउने गर्दछ।
उपयुक्त चिस्यान कायम नगर्दा बीउको उम्रने क्षमता घट्ने, भौतिक अशुद्धता रहँदा जातीय शुद्धता बिग्रिने र रोग–किरा नियन्त्रणमा लापरवाही गर्दा सम्पूर्ण बाली नै जोखिममा पर्न सक्ने उनले बताए। त्यसैले वैज्ञानिक विधिबाट बीउको प्रशोधन, सुरक्षित भण्डारण र मापदण्ड अनुसारको प्याकेजिङ अनिवार्य रहेको उनले जोड दिएका छन्।


कृषि क्षेत्रमा संलग्न संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवालाहरूले गुणस्तरयुक्त बीउको उत्पादन र प्रयोगलाई प्राथमिकता दिनुपर्ने कुरामा कुश्वाहाले जोड दिएका छन्। यसले किसानको उत्पादन लागत घटाउने मात्र नभई, उत्पादन वृद्धि र खाद्य सुरक्षामा पनि सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button