Banner Newsकृषिसमाचार

स्थानीय तहका कृषि प्राविधिकका लागि पाँच दिने फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापन तालिम सम्पन्न

नवलपुर, सर्लाही : स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरूका लागि फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम २०८२ माघ १९ गते देखि २३ गतेसम्म उष्ण प्रदेशीय बागवानी केन्द्र, नवलपुर सर्लाहीको आयोजनामा बागवानी केन्द्रकै तालिम हलमा सम्पन्न भएको छ।


उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा प्रमुख अतिथिका रूपमा बाली संरक्षण अधिकृत सुनिल कुमार चौधरी सहभागी रहनु भएको थियो। साथै बागवानी केन्द्र नवलपुरका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू, मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत १८ जना कृषि प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


तालिमको समापन समारोहमा अध्यक्षीय मन्तव्य राख्दै निमित्त प्रमुख रामकुमार यादवले तालिममा सिकाइएका प्रयोगात्मक सीपहरूलाई व्यवहारमा उतार्न सबै सहभागी प्राविधिकहरूलाई अनुरोध गर्नुभयो। उहाँले फलफूल नर्सरी र बगैंचा व्यवस्थापनले स्थानीय तहमा कृषि उत्पादन वृद्धि र किसानको आयस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।


पाँच दिने तालिम अवधिमा बागवानी केन्द्र प्रमुख रामकुमार यादव, बाली संरक्षण अधिकृत सुनिल चौधरी, बाली विकास अधिकृत अन्जु चौधरी, कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्र प्रमुख रोशन मेहता, उष्ण प्रदेशीय बागवानी नर्सरी विकास केन्द्र जनकपुरधाम (धनुषा) का प्रमुख राजीव कुमार यादव, प्रशिक्षक मनिसा बाम तथा कृषि इन्जिनियर रोशन कुमार साहले प्रशिक्षण प्रदान गर्नुभएको थियो।


तालिममा आँपका जात तथा बागवानी केन्द्रले विकास गरेका जातहरूको जानकारी, बगैंचा स्थापना गर्दा ध्यान दिनुपर्ने पक्षहरू, आँप रोप्ने तरिका, खाल्डा खन्ने विधि, मलखादको प्रयोग, गोडमेल तथा काटछाँट, रोग–किरा पहिचान र व्यवस्थापन, एभोकाडो, अनार र लिची खेती प्रविधि, विषादीको सुरक्षित प्रयोग, जैविक विषादीको परिचय र प्रयोग, फलफूल बालीको प्रसारण विधि (Grafting, Layering, Cutting, Budding), भर्मिकम्पोस्ट उत्पादन, बोडो पेस्टको प्रयोग, सिँचाइ व्यवस्थापन, पोस्ट–हार्भेस्ट प्रविधि, नर्सरी व्यवस्थापन, फलफूल खेतीको लाभ–लागत, कृषि यान्त्रिकरण, माटोको उर्वराशक्ति व्यवस्थापन, पुष्प खेती तथा टिस्यु कल्चर खेतीका विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागी टक प्रसाद उपाध्यायले तालिम प्रभावकारी र प्रयोगात्मक भएको प्रतिक्रिया दिनुभयो भने रेलिना ढुंगानाले तालिममा सिकेका सीपहरू आफ्ना कार्यक्षेत्रमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उष्ण प्रदेशीय बागवानी केन्द्र प्रमुख रामकुमार यादवले तालिम औपचारिक रूपमा समापन गर्नुभयो।


सो कार्यक्रमबारे जानकारी बागवानी केन्द्र नवलपुर, सर्लाहीका बागवानी विकास अधिकृत अन्जु चौधरीले गराउनु भयो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button