धोबिनी गाउँपालिका वडा नम्बर ५, धोबिनी गाउँका ५५ जनाको मोतियाबिन्दुको शल्यकृया निःशुल्क गरिएको छ। यस पहलको नेतृत्व गैरसरकारी संस्था होप फर ह्युमानिटी फाउन्डेशनले गरेको हो। वीरगन्जस्थित वीरगन्ज सामुदायिक आँखा केन्द्रमा ती शल्यकृयाहरू सम्पन्न भएका हुन्।
संस्थाका सदस्य मुस्ताक अन्सारीका अनुसार, शल्यकृया अघि गत शनिबार धोबिनी–५ का विद्यालयमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो। उक्त शिविरमा २२० जनाको आँखा जाँच गरिएकोमा ६९ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो। तीमध्ये तत्काल शल्यकृयाको आवश्यकता भएका ५५ जनाको उपचार वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिएको अन्सारीले बताए।
शल्यकृयामा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकले उच्च मापदण्डअनुसार सबै बिरामीको उपचार सुनिश्चित गरेका थिए। अन्सारीले भने, “हाम्रो संस्था समुदायमा दृष्टि सुधार र आँखासम्बन्धी स्वास्थ्यको क्षेत्रमा सक्रिय रहन्छ। यस्तो परोपकारी कार्य आगामी दिनमा पनि निरन्तरता दिइनेछ।”
स्थानीयबासिन्दाहरूले पनि निःशुल्क शल्यकृयाले जीवनस्तर सुधार्न ठूलो मद्दत पुगेको प्रतिक्रिया दिएका छन्। बृद्धवृद्धा र दृष्टि समस्यामा परेका व्यक्तिहरूको जीवनमा यस पहलले आशा र आत्मनिर्भरता थपेको उनीहरूको भनाइ छ।




