कलैया, १५ फागुन
जिल्ला प्रशासन कार्यालय बाराले फागु/होली पर्व २०८२ लाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्दै मनाउन सबैमा आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको हस्ताक्षरमा जारी भएको सूचना मार्फत होली पर्व धार्मिक–सांस्कृतिक महत्व बोकेको पर्व भएकाले मर्यादा, संयम र अनुशासनका साथ मनाउन अनुरोध गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार यस वर्ष फागु पूर्णिमासँगै प्रतिनिधि सभाको आम निर्वाचनको अवधि परेकाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै पर्व मनाउनु पर्नेमा विशेष जोड दिइएको छ। प्रशासनले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, भातृ–संगठन, मतदाता तथा सर्वसाधारण सबैलाई आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले होलीको अवसरमा कुनै पनि प्रकारका अवाञ्छित, उच्छृङ्खल तथा हिंसात्मक गतिविधि नगर्न/नगराउन चेतावनी समेत दिएको छ। विशेष गरी होलीका दिन राजनीतिक दलको झण्डा, लोगो, नारा, उम्मेदवारको फोटो वा प्रचार सामग्री प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ। मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन, सार्वजनिक स्थलमा होहल्ला, झैँझगडा, जबर्जस्ती रंग दल्ने, लोला हान्ने, फोहर फाल्ने, कर्कश आवाजमा डिजे बजाउने तथा छिमेकलाई असर पर्ने गतिविधि नगर्न निर्देशन दिइएको छ।
त्यसैगरी, धार्मिक सहिष्णुता कायम राख्दै कसैको इच्छा विपरीत जबर्जस्ती रंग नदल्न, लोला हान्ने वा दुःख–हैरानी दिने कार्य नगर्न आग्रह गरिएको छ। समय, परिस्थिति र अनुकूलतालाई विचार गरी परिवार भित्रै मर्यादित रूपमा होली मनाउन समेत प्रशासनले सुझाव दिएको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन वा प्रचलित कानुनविपरीत कार्य गरेको पाइएमा सम्बन्धित व्यक्ति वा समूहलाई कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ। आचारसंहिता उल्लङ्घनबारे जानकारी भएमा मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति वा नजिकको सुरक्षा निकायमा सूचना दिन अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, बारा, कलैयाले सबै नागरिकको सहकार्यबाट शान्तिपूर्ण होली र स्वच्छ निर्वाचन सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।




