कलैया, १५ फागुन
आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन बारा जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाभर ३०८ मतदान स्थल अन्तर्गत ५८७ मतदान केन्द्र कायम गरिएको छ।
निर्वाचन सुरक्षाका लागि करिब १ हजार ६ सय नेपाल प्रहरी र दुई हजार६ सय ३८ निर्वाचन प्रहरी परिचालन गरिनेछ। यसका साथै ७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ७ सय ६३ जना थप सुरक्षाकर्मी मद्दत तथा समन्वयका लागि जिल्लामा खटाइएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बहुपरत (multi-layer) सुरक्षा रणनीति अपनाइएको छ। मतदान स्थल, मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणना स्थल तथा प्रमुख नाकामा विशेष निगरानी राखिनेछ।
यसका अतिरिक्त, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका छुट्टाछुट्टै सुरक्षा टोलीसमेत परिचालन हुने व्यवस्था मिलाइएको प्रहरी प्रवक्ताले जानकारी दिए। आवश्यक परेमा तत्काल प्रतिकार्यका लागि रिजर्भ फोर्ससमेत तयारी अवस्थामा राखिने बताइएको छ।
प्रहरी प्रशासनले मतदातालाई निर्भीक वातावरणमा मतदान गर्न आह्वान गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिने स्पष्ट पारेको छ। कुनै पनि अवाञ्छित गतिविधि, भय–त्रास, अवरोध वा आचारसंहिता उल्लङ्घन देखिएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा नागरिक समाजबीच समन्वय बढाउँदै शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने लक्ष्यसहित सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




