Banner Newsकृषिसमाचार

सन्तुलित माटो रसायन र उर्वराशक्ति व्यवस्थापनले दीगो कृषि सुनिश्चित

कलैया, बारा : माटोको स्वास्थ्य जोगाइ राख्न सन्तुलित माटो रसायन (Soil Chemistry) तथा उचित माटो उर्वराशक्ति व्यवस्थापन अत्यन्तै आवश्यक रहेको फेटा गाउँपालिका कृषि विज्ञ सन्जय कुश्वाहाले बताएका छन्। उनका अनुसार माटोमा पोषक तत्त्वहरूको सन्तुलन कायम नगर्दा उत्पादनमा गिरावट आउनुका साथै दीर्घकालीन रूपमा कृषि प्रणाली नै कमजोर बन्ने खतरा बढ्दछ।

फेटा गाउँपालिकाको कृषि विज्ञ कुश्वाहाका अनुसार सन्तुलित माटो रसायन व्यवस्थापनले बालीलाई आवश्यक पोषक तत्त्वहरू प्रभावकारी रूपमा उपयोग गर्न सहयोग पुर्‍याउँछ। यसले नाइट्रोजन, फस्फोरस, पोटासियम लगायत सूक्ष्म तथा पोषक तत्त्वहरूको उपलब्धता सुधार गरी बालीको वृद्धि तथा उत्पादन क्षमतामा सकारात्मक प्रभाव पार्दछ।

त्यसैगरी, उचित माटो उर्वराशक्ति व्यवस्थापनले माटोमा रहेका लाभदायक सूक्ष्मजीवहरूको सक्रियता बढाउने कुश्वाहाले बताए। सूक्ष्म जीवहरूले जैविक पदार्थको विघटन, पोषक तत्त्वको रूपान्तरण तथा माटो संरचना सुधारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पोषक तत्त्वको सक्रियता दीगो कृषिका लागि अपरिहार्य मानिन्छ।

कृषि विज्ञ कुश्वाहाका अनुसार असन्तुलित रासायनिक मलको अत्यधिक प्रयोगले माटो अम्लीय (Acidification) वा नुनिलो (Salinization) बन्ने समस्या देखिन सक्छ। यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा नकारात्मक असर पार्दै दीर्घकालमा उत्पादन क्षमता घटाउने जोखिम बढाउँछ।

यस सन्दर्भमा उनले माटो परीक्षणका आधारमा मल प्रयोग गर्ने, जैविक मलको समुचित उपयोग गर्ने, बाली चक्र प्रणाली अपनाउने तथा माटो संरक्षण प्रविधिहरू अवलम्बन गर्नुपर्ने आवश्यकता बताए । सन्तुलित माटो रसायन र उर्वराशक्ति व्यवस्थापन मार्फत मात्र दीगो, उत्पादनशील र वातावरणमैत्री कृषि प्रणाली सुनिश्चित गर्न सकिने उनको सुझाव रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button