राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा बारा जिल्लाको प्रसौनी गाउँपालिका जिल्लामै सर्वोत्कृष्ट स्थानीय तह बनेको छ। ७० दशमलव २४ अंक प्राप्त गर्दै प्रसौनीले जिल्लाका १६ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गर्नुका साथै मधेश प्रदेशमा दोस्रो स्थान सुरक्षित गरेको हो।
आयोगका अनुसार यो नतिजाले गाउँपालिकाको समग्र प्रशासनिक क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन र सेवा प्रवाहको अवस्था सुदृढ रहेको संकेत गर्दछ। मधेश प्रदेशस्तरमा पहिलो स्थान पर्सागढी नगरपालिका, पर्साले ७२ दशमलव ९९ हासिल गरेको छ भने तेस्रो स्थान पटेर्वा सुगौली गाउँपालिका, पर्साले ६७ दशमलव ९९ पाएको छ।
त्यस्तै प्रतिवेदन अनुसार बारा जिल्लामा परवानिपुर गाउँपालिका ६५ दशमलव १७ अंकसहित दोस्रो र पचरौता नगरपालिका ५६ दशमलव ३३ अंकसहित तेस्रो स्थानमा रहेका छन्। त्यस्तै सिमरौनगढ नगरपालिका ५१ दशमलव ३५, करैयामाई गाउँपालिका ५० दशमलव ६३, आदर्श कोतवाल गाउँपालिका ५० दशमलव १०, कलैया उपमहानगरपालिका ५० दशमलव ३२, देवताल गाउँपालिका ५० दशमलव ३२, विश्रामपुर गाउँपालिका ४९ दशमलव ४५, फेटा गाउँपालिका ४९ दशमलव ५५, महागढीमाई नगरपालिका ४९ दशमलव ३१, जीतपुरसिमरा उपमहानगरपालिका ४८ दशमलव ३९, निजगढ नगरपालिका ४१ दशमलव ४७, बारागढी गाउँपालिका ४१ दशमलव ०८, कोल्हवी नगरपालिका ३९ र सुवर्ण गाउँपालिका ३७ दशमलव ९६ क्रमशः पछिल्ला स्थानमा रहेका छन्।
प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले यस उपलब्धिलाई संस्थागत प्रयासको परिणाम बताएका छन्। “कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त यो नतिजा नीति, योजना र सेवा प्रवाहलाई मापनयोग्य सूचकका आधारमा सुधार गर्दै लगेको परिणाम हो,” उनले भने, “प्रक्रियागत सुधार, समयमै योजना कार्यान्वयन र अनुगमनले सकारात्मक प्रभाव पारेको छ।”
त्यस्तै लेखा अधिकृत प्रेमबाबु पटेलले वित्तीय अनुशासन प्रमुख कारण रहेको उल्लेख गरेका छन्। “आन्तरिक नियन्त्रण प्रणाली, पारदर्शी लेखा व्यवस्थापन र समयमै लेखापरीक्षणका प्रक्रियाले अंक सुधारमा निर्णायक भूमिका खेलेको छ,” उनले भने, “आगामी दिनमा पनि वित्तीय सुशासनलाई प्राथमिकतामा राखिन्छ।”
यसअघि गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालले यो सफलता जनप्रतिनिधि, कर्मचारी र गाउँवासीको सामूहिक मेहनतको परिणाम भएको बताउँदै सुशासन, विकास निर्माण र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजासँगै प्रसौनी गाउँपालिकामा उत्साह थपिएको छ। स्थानीय तहबीच बढ्दो स्वस्थ प्रतिस्पर्धाले सेवा प्रवाहमा सुधार, पारदर्शिता र जवाफदेहिता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।




