निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै बारा जिल्लाको कलैयामा मतदाता शिक्षा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत मतदान प्रक्रियाबारे स्पष्टता, आचारसंहिताप्रतिको सचेतना र गलत सूचनाको नियन्त्रणमा जोड दिइएको छ।
शुक्रबार कलैया उपमहानगरपालिकाको सभा कक्षमा सम्पन्न कार्यक्रममा मतदाता शिक्षा स्वयंसेवकहरूलाई प्रशिक्षण दिइएको हो। कार्यक्रम शिक्षा महाशाखा प्रमुख तथा निर्वाचन फोकल पर्सन राजिव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने निर्वाचन कार्यालय बाराका नायब सुब्बा तथा सूचना अधिकारी मुकेश सिंहले सहजीकरण तथा प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणमा स्वयंसेवकहरूको भूमिका, मतदान विधि, मतपत्र चिन्ने तरिका, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता र अफवाह तथा गलत सूचना नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी गराइएको थियो। आयोगका प्रतिनिधिहरूले लोकतन्त्र सुदृढीकरणका लागि मतदाताको सचेत सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै गाउँ–टोल तहसम्म सही सूचना प्रवाह गरिने बताए।
कार्यक्रममा सहभागी स्वयंसेवकहरूले निर्वाचन अवधिभर मतदातालाई व्यवहारिक जानकारी दिनुका साथै सम्भावित अनियमितताबारे सचेत गराउने प्रतिबद्धता व्यक्त गरे। उक्त कार्यक्रम कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा सम्पन्न भएको हो। आयोजकले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
स्थानीय तहको सक्रियता र निर्वाचन आयोगको सहकार्यले बारा जिल्लामा मतदाता चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।





Earn passive income this month—become an affiliate partner and get paid!