बाराको कलैया उपमहानगरपालिका–२७ मा आयोजना गरिएको श्री राम महायज्ञ एवं रामजानकी प्रतिष्ठा को शुभयात्रामा सहभागी श्रद्धालुहरूलाई बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामबाबु कुमार यादव ले पानी वितरण गरेका छन्।
धार्मिक आस्था र सामाजिक सेवाको भावनासहित आयोजित शुभयात्रामा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको थियो। चर्को घाम र भीडका बीच उम्मेदवार यादवले स्वयं उपस्थित भई श्रद्धालुहरूलाई पानी वितरण गर्दै मानवीय सेवा र सहकार्यको सन्देश दिएका थिए।
शुभयात्राका क्रममा यादवले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा एकता, सहिष्णुता र सद्भाव बढाउने उल्लेख गर्दै यस्ता कार्यक्रममा जनप्रतिनिधिको सहभागिता जनभावनासँग जोडिन सहयोगी हुने बताए। उनले आफू निर्वाचित भए जनताको धर्म, संस्कृति र परम्पराको संरक्षणका साथै विकास र समृद्धिलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई चुनावी अभियानसँग जोड्दै यादवले स्थानीयवासीसँग प्रत्यक्ष संवाद पनि गरेका थिए। भेटघाटका क्रममा स्थानीय जनताले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका विषयमा आफ्ना अपेक्षा राखेका थिए, जसलाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।
स्थानीय श्रद्धालु तथा सहभागीहरूले धार्मिक कार्यक्रममा उम्मेदवारको सक्रिय सहभागितालाई सकारात्मक रूपमा लिँदै सामाजिक सेवाप्रतिको उनको पहल प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन्। यसैबीच, जसपाले बारा–३ मा जनसम्पर्क, घरदैलो तथा सामाजिक कार्यक्रममा सहभागितामार्फत चुनावी अभियानलाई थप तीव्र बनाएको जनाएको छ।




