नेपालको तराई र पहाडी क्षेत्रमा गहुँ खेतीमा सिन्दुरे (रस्ट) रोग देखिन थालेपछि किसानहरू चिन्तित बनेका छन्। फेटा गाउँपालिकाका कृषि विज्ञ सन्जय कुश्वाहा का अनुसार ढुसी (fungus)बाट लाग्ने यस रोगले गहुँको पात, डाँठ तथा कहिलेकाहीँ बालासम्म असर पुर्याउँदै उत्पादनमा १० देखि ३० प्रतिशतसम्म ह्रास ल्याउन सक्ने खतरा रहेको छ।
कृषि विज्ञ कुश्वाहाका अनुसार गहुँमा सिन्दुरे रोग बेर्नादेखि बाला पाक्ने अवस्थासम्म विभिन्न रूपमा देखा पर्न सक्छ। समयमै रोगको पहिचान र उचित व्यवस्थापन गर्न सके यसबाट हुने क्षति उल्लेखनीय रूपमा घटाउन सकिने भन्दै उनले किसानहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
सिन्दुरे रोगका प्रकार र लक्षण
१. पहेंलो सिन्दुरे (Yellow Rust)
पातको माथिल्लो सतहमा पहेंलो धर्काजस्ता दागहरू देखिन्छन्। समयक्रममा ती दागहरू फोकाजस्तै उठेर कालो टेलियोस्पोरमा परिणत हुन्छन्, जसले हावामार्फत छिटो फैलिने क्षमता राख्दछ।

२. खैरो सिन्दुरे (Brown Rust)
प्रायः पातमै सीमित रहने यस रोगमा पातको माथिल्लो सतहमा सुन्तला वा खैरो रङका गोलो वा लाम्चा फोकाहरू (युरिडियोस्पोर) देखिन्छन्। प्रारम्भिक अवस्थामै संक्रमण भएमा बोट कमजोर भई बाला सानो हुने र उत्पादन घट्ने सम्भावना उच्च हुन्छ।

३. कालो सिन्दुरे (Black Rust)
मुख्यतः डाँठमा लामो अण्डाकार सुन्तला वा खैरो फोकाका रूपमा देखिने यो रोग बढ्दै जाँदा डाँठ कमजोर भई भाँचिन सक्छ। कतिपय अवस्थामा पातको तल्लो सतहको छाला (एपिडर्मिस) फुटेको समेत देखिन्छ।
रोग लाग्ने कारण र अनुकूल वातावरण
कृषि विज्ञहरूका अनुसार तापक्रम र चिस्यानअनुसार गहुँमा तीनै प्रकारका रस्ट रोग सक्रिय हुन्छन्।

स्ट्राइप/पहेंलो रस्ट: १०–१५°से. तापक्रम र ५ घण्टाभन्दा बढी ओसिलो अवस्था
पात/खैरो रस्ट: १५–२५°से. तापक्रम र ६ घण्टाभन्दा बढी ओसिलो अवस्था
डाँठ/कालो रस्ट: २५–३०°से. तापक्रम र चिस्यानयुक्त वातावरण
यी रोगहरू हावाबाट लामो दूरीसम्म फैलिन सक्ने भएकाले पहाडी क्षेत्रदेखि तराईसम्म संक्रमणको जोखिम रहने विज्ञहरूको भनाइ छ।
व्यवस्थापनका उपाय कृषि विज्ञ कुश्वाहाका अनुसार सिन्दुरे रोग नियन्त्रणका लागि किसानहरूले निम्न उपायहरू अपनाउन आवश्यक छःसिफारिस मात्रामा सन्तुलित मलखाद प्रयोग गर्ने
खेतबारीको नियमित अनुगमन गर्ने
रोग देखिएमा १०–१२ दिनको अन्तरालमा २ पटक उपयुक्त विषादी छर्कने
क्रेसोक्सिम मिथाइल ४४.८% एस.सी. (१ मि.लि./लि. पानी)
म्यान्कोजेब ७५% डब्लु.पी. (२ ग्राम/लि. पानी)
प्रोपिकोनाजोल २५% ई.सी. (१ मि.लि./लि. पानी)
एउटै समूहको विषादी लगातार प्रयोग नगरी पालैपालो फरक समूह प्रयोग गर्ने
कृषि विज्ञ कुश्वाहाले नियमित निगरानी, सन्तुलित पोषण व्यवस्थापन र समयमै विषादी प्रयोग गर्न सके सिन्दुरे रोगको प्रभाव उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने बताएका छन्।





