बारा, १५ फागुन
आसन्न प्रतिनिधि सभाको आम निर्वाचन नजिकिँदै जाँदा बारा–३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा जनमत पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोद गुप्ता कलैयाका विभिन्न टोलमा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन्।
घरदैलो अभियानका क्रममा मतदाताहरूले परिवर्तनको चाहना, युवा नेतृत्वप्रति भरोसा, ईमान्दार र पारदर्शी शासन तथा दिगो विकासको अपेक्षा व्यक्त गर्दै उम्मेदवार गुप्ताप्रति उत्साह देखाएका छन्। कार्यक्रममा सहभागी मतदाताको सक्रियताले चुनावी माहोल थप तातेको देखिन्छ।
पूर्व प्रदेश सभा सदस्य पारस साहका अनुसार शुक्रबार कलैया उपमहानगरपालिका वडा नं २४ सखुई मनहर्वामा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीय मतदाताले पुराना समस्याको समाधान खोज्ने नयाँ सोच र ऊर्जावान नेतृत्वको आवश्यकता औंल्याउँदै गुप्ताको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका थिए। उनका अनुसार जनताले अब व्यवहारिक विकास र परिणाममुखी नेतृत्व चाहेको सन्देश स्पष्ट रूपमा व्यक्त गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार गुप्ताले क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण तथा सडक, खानेपानीजस्ता आधारभूत पूर्वाधार विस्तारका विषयमा आफ्ना योजना मतदातासमक्ष प्रस्तुत गरे। साथै उनले स्थानीय बासिन्दाका गुनासा र सुझावहरू ध्यानपूर्वक सुन्दै ती विषयलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय नेता, पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेषगरी युवा मतदाताहरूको सक्रिय सहभागिता र उत्साहले अभियानलाई थप ऊर्जा दिएको सहभागीहरूको भनाइ छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो प्रत्यक्ष संवादले मतदाता र उम्मेदवारबीचको दूरी घटाउने मात्र नभई जनविश्वास सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
निर्वाचनको मिति नजिकिँदै जाँदा गुप्ताको घरदैलो तथा र्याली अभियानले बारा–३ मा चुनावी सरगर्मी बढाएको छ। समर्थकहरूले आगामी निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै अभियानलाई अझ सशक्त बनाउने रणनीतिमा जुटेका छन्।




