बारा , १५ फागुन
आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार रामबाबु यादव को चुनावी अभियानमा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल ले समर्थन जनाउँदै मतदान गर्न आग्रह गरेका छन्।
शुक्रबार फेटा गाउँपालिका–७ गम्हरियामा आयोजना गरिएको कोण सभामा संबोधन गर्दै सोनलले जनताको सुख–दुःखमा सधैं खटिने र जनसेवामा समर्पित नेता मात्र सही प्रतिनिधि बन्ने बताए। उनले ह्वाट्सएप वा सामाजिक सञ्जालमार्फत मात्र प्रचार गर्ने उम्मेदवारभन्दा विकास र जनकल्याणमा सक्रिय नेतृत्व महत्वपूर्ण भएको भन्दै यादवको पक्षमा मतदान गर्न मतदातालाई अनुरोध गरे।
सभामा बोल्दै उम्मेदवार रामबाबु यादवले संविधान निर्माणको क्रममा यहाँका संविधान सभा सदस्यहरूले मधेशी र मुस्लिम समुदायसँग गद्दारी गरेको उल्लेख गर्दै संविधान संशोधन र क्षेत्रीय हक–अधिकारको सुनिश्चितताका लागि आफूलाई मतदान गर्न आग्रह गरे। उनले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारमा निरन्तरता दिने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा स्थानीय नेता, पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यादवको घरदैलो र कोण सभा कार्यक्रमले बारा क्षेत्र नम्बर ३ मा चुनावी माहोल तताएको विश्लेषकहरूले बताएका छन्।
यस अवसरमा पूर्व मुख्यमन्त्री सोनलले जनतालाई चेतावनी दिनुभयो कि “सिर्फ प्रचारमात्र गर्ने उम्मेदवारले जनताको समस्याको समाधान गर्न सक्दैन, कार्यशैली, इमान्दारी र अनुभवले मात्र विश्वास जित्छ।”
उक्त कार्यक्रम पछि जसपा उम्मेदवार यादवको चुनावी अभियानमा थप गति आएको देखिएको छ।




