Banner Newsमधेसराजनीतिसमाचार

जीतपुरका वडामा रास्वपा उम्मेदवार इन्जिनियर अरविन्द शाहको घरदैलो, मतदाताबाट उत्साहजनक स्वागत

बारा, १५ फागुन
आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई लक्षित गर्दै बारा क्षेत्र नं ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द शाह ले जीतपुर नगरपालिकाका वडा नम्बर ११, १४ र १५ मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।
घरदैलोका क्रममा उम्मेदवार शाहलाई स्थानीय मतदाताहरूले अबिर र माला लगाई आत्मीय स्वागत गरेका थिए। भेटघाटमा सहभागी धेरै मतदाताले परिवर्तनको चाहना व्यक्त गर्दै आगामी निर्वाचनमा उनलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय बासिन्दाको सक्रिय सहभागिता र उत्साहले चुनावी माहोल थप तातेको देखिएको छ।
घरदैलो अभियानमा शाहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारजस्ता विषयलाई प्राथमिकतामा राख्ने बताए। इन्जिनियरिङ पृष्ठभूमिका कारण पूर्वाधार विकास, योजनाबद्ध शहरीकरण, सुरक्षित सडक र दीर्घकालीन विकास योजनामा आफू विशेष ध्यान दिने उनले स्पष्ट पारे।
मतदातासँगको छलफलमा शाहले पुराना समस्याको समाधान व्यवहारिक र परिणाममुखी ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको सुझाव र गुनासालाई आफ्नो चुनावी एजेन्डामा समेट्ने बताए। “अब राजनीति सेवा र उत्तरदायित्वसँग जोडिनुपर्छ,” भन्दै उनले नयाँ सोच र इमान्दार नेतृत्वको आवश्यकता औंल्याए।
घरदैलो कार्यक्रममा स्थानीय नेता, पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेषगरी युवाहरूको सक्रिय सहभागिताले अभियानलाई थप ऊर्जा दिएको सहभागीहरूको भनाइ छ। राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपा उम्मेदवार शाहको निरन्तर घरदैलो अभियानले बारा क्षेत्र नं ३ मा वैकल्पिक राजनीति र नयाँ नेतृत्वप्रति जनचासो बढाउँदै लगेको संकेत देखिएको छ।
निर्वाचन नजिकिँदै जाँदा शाहको घरदैलो र मतदाता भेटघाट कार्यक्रमले क्षेत्रमा चुनावी वातावरण थप सक्रिय बन्दै गएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button