कलैया , १५ फागुन
आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार तथा पूर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादव ले निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुको उद्देश्य स्पष्ट पारेका छन्। उनले आफ्नो अघिल्लो कार्यकालमा सम्पन्न विकास आयोजनाको संरक्षण गर्ने, अधुरा रहेका योजनालाई पूर्णता दिने तथा क्षेत्रको समग्र विकासलाई थप गति दिने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।
चुनावी अभियानका क्रममा यादवले जनतामाझ प्रत्यक्ष संवाद गर्दै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा आफूले खेलेको भूमिकाको स्मरण गराएका छन्। उनका अनुसार निरन्तरता बिना विकास सम्भव नहुने भएकाले सुरु गरिएका योजनालाई टुंगोमा पुर्याउनु आजको आवश्यकता हो।
यादवले आफ्नो स्वच्छ छवि, इमान्दारिता र विकासमुखी कार्यशैली नै आगामी निर्वाचनमा जितको आधार बन्ने विश्वास व्यक्त गरे। “जनताले मेरो कामको मूल्यांकन गर्छन्,” उनले भने, “मैले कार्यालय सम्हालेको समयमा भएका विकास, पारदर्शिता र जनउत्तरदायी व्यवहारकै कारण जनताले पुनः विश्वास गर्नेछन्।”
स्थानीय बासिन्दासँगको भेटघाटमा उनले युवाका लागि रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सामाजिक सेवाको विस्तार तथा समावेशी विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याए। चुनाव नजिकिँदै जाँदा यादवको घरदैलो र भेटघाट कार्यक्रमले निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि थप सक्रिय बनाएको देखिन्छ।




