Banner Newsमधेसराजनीतिसमाचार

​रौतहट झडप: जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद पक्राउ, गौरमा कर्फ्यू जारी

​जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ६ सबगढामा दुई समुदायबीच उत्पन्न विवाद र त्यसपछिको हिंसात्मक झडपमा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेदलाई शनिबार नियन्त्रणमा लिएको छ। जमशेद सोही वडाका पूर्व वडा अध्यक्ष समेत हुन्।
​​प्रहरीका अनुसार घटनाको सुरुवात बिहीबार साँझ भएको थियो। सबगढा स्थित मस्जिदको बाटो हुँदै हिन्दू समुदायको जन्ती बोकेको गाडी डिजे बाजासहित जान खोज्दा स्थानीय मुस्लिम समुदायका केही व्यक्तिले अवरोध गरेका थिए। सोही विषयलाई लिएर दुई पक्षबीच भनाभन र सामान्य हातहालाहाल भएको थियो।
​शुक्रबार बिहानैदेखि दुवै पक्षबीच ढुङ्गामुढा र झडप सुरु भएपछि स्थिति तनावपूर्ण बनेको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालयको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति गराएर अवस्था सामान्य पार्ने प्रयास गरिए पनि शनिबार बिहानैबाट पुनः झडप सुरु भएको थियो।
​​शनिबार बिहानै देखि भएको झडपमा शेख जमशेदले भीडलाई उक्साएको र हिंसात्मक गतिविधिमा संलग्न रहेको केही प्रमाण फेला परेको प्रहरीले दाबी गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले जमशेदलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।
​पक्राउ परेपछि जमशेदले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई प्रहरीले बिनाकारण घरबाटै उठाएको दाबी गरेका छन्। प्रहरी प्रशासनले यसबारे थप अनुसन्धान भइरहेको भन्दै आधिकारिक रूपमा विस्तृत जानकारी दिन चाहेको छैन।
​​प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार हालसम्म भएका झडपमा कम्तीमा १० जना सामान्य घाइते भएका छन्।
 जमशेद सहित हालसम्म २० जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।आक्रोशित प्रदर्शनकारीहरूले ७ वटा मोटरसाइकल र १ थान स्कार्पियो गाडीमा आगजनी गरी नष्ट गरेका छन्।
​स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रहरीले ५० राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ भने भीडलाई तितरबितर पार्न दर्जनौँ राउण्ड हवाई फायर समेत गरिएको थियो।
​​शनिबारको झडप पछि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रशासनले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सडकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको हो । प्रशासनले सामाजिक सद्भाव कायम राख्न र कुनै पनि प्रकारको भ्रामक हल्लाको पछि नलाग्न जिल्लाबासीलाई आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button